२६ जेठ २०८३, मंगलबार

रूपन्देहीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

जेठ ७, २०७५
रूपन्देहीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु

बुटवल ७ जेठ– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिना गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

गद्धीहवाको नौखनिया पोखरीमा नुहाउने क्रममा एकै गाउँका चारैजना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

बिहान करीब साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरू पौडिन नसक्दा डुबेर मृत्यु भएको ज्ञवालीले जानकारी दिए ।  

मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । 

बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै ४ किलो मिटर पश्चिममा पर्छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर– ११ का वडा अध्यक्ष अकरामद्धिन खानले पोखरीमा बालिकाहरू डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेपछि प्रहरीले निकालिएको जानकारी दिए ।

उक्त पोखरी प्राकृतिक पोखरीको रूपमा रहेको र त्यसवरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।  

उनीहरूको मृत्यु पछि लुम्बिनीको मसिनागाँउ शोकमा डुवेको छ । मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्