२९ जेठ २०८३, शुक्रबार

तलब माग्दा शरीर टुक्राटुक्रा पारेर फालियो

तलब माग्दा शरीर टुक्राटुक्रा पारेर फालियो

काठमाडौं, ७ जेठ – भारतको दिल्लीमा एक घरेलु कामदारलाई मासिक तलब माग्दा हत्या गरिएको छ । उनको टुक्राटुक्रा भएको शरीरका भागहरू एउटा नालीमा भेटिएका थिए । 

प्रहरीले मञ्जीत कार्केटा नामक एक व्यक्तिलाई यस सन्दर्भमा पक्राउ गरेको छ । 

कार्केटासहितका चार हत्याराहरूले मृतक सोनी कुमारीलाई मारेर उनको शरीरको १२ टुक्रा बनाएर फ्याँकेका थिए । 

झारखण्डको राँचीनजिकको एक गाउँमा बस्ने मृतकलाई महिनाको भारु ६ हजार ५०० दिने भन्दै घरेलु कामदारका रूपमा राखिएको थियो । तर दिल्लीमा तीन वर्ष काम गरुन्जेल उनले एक पैसा पनि पाइनन् । उनलाई दक्षिणी दिल्लीमा
रहेको एक व्यापारीको घरमा पूर्णकालीन काम गर्नका लागि राखिएको थियो । 

‘काम लगाउनेले त उनलाई मासिक तलब दिइरहेका थिए तर उनलाई दिल्ली ल्याउने मानिसले चाहिँ त्यो पैसा आफैंसँग राख्ने गरेका थिए,’ प्रहरी अधिकारी राजेन्दर सिंह सागरले बताए । 

बालिकाका पिता वर्षौंअघि बितिसकेका थिए । कुमारी आफ्नी आमा र दुई दाजुभाइसँग माल्गो गाउँमा बस्थिन् । तीन वर्षअघि उनलाई राम्रो तलब दिने आश्वासन दिँदै दिल्ली ल्याइएको थियो । 

दिल्लीमा एक वर्ष काम गरेपछि कुमारीले पैसा दिनुपर्ने अनि घर पठाउनुपर्ने माग राख्न थालिन् । 

‘केही हप्तायता उनी लगातार माग राखिरहेकी थिइन् । कार्केटा र उनका सहयोगीहरूले उनलाई दुई लाखभन्दा बढी तिर्नुपर्ने थियो । प्रहरीलाई बालिकाले खबर गर्लिन् भनी उनीहरू डराए । त्यसैले उनीहरूले कुमारीलाई मार्ने योजना
बनाए,’ प्रहरी अधिकारीले बताए । 

तीन हप्ताअघि उनीहरूले उनलाई घर फर्काइदिने बहानामा मालिकको घरबाहिर लगे । अनि उनीहरूले उनलाई नाङ्लोइ लगे ।

‘हत्याराहरूले पहिला उनको टाउकोमा हिर्काए । त्यसपछि उनीहरूले उनको घाँटी छिनाए अनि हातगोडा काटिदिए । त्यसपछि उनीहरूले शरीरका टुक्रा झोलामा राखेर मियानवालीको एक नालीमा फ्याँके,’ प्रहरीले बतायो ।

प्रहरीले लामो खोजपछि कार्केटालाई समात्यो । अन्य आरोपितहरूको खोजी जारी छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्