
काठमाडौं, ७ जेठ – यही जेठ ३१ गतेदेखि रुसमा शुरु हुन लागेको फूटबल विश्वकपमा जर्मनीले विश्वकप फेरि जित्ने आँकलन धेरैले गरेका छन् ।
प्रशिक्षक योआचिम ल्योले सन् १९६२ पछि कुनै टोलीले लगातार दुईपटक विश्वकप जितेको कीर्तिमान जर्मनीलाई दिलाउलान् कि वरिष्ठ खेलाडीहरूले संन्यास लिएका कारण जर्मनीलाई अगाडि बढ्न गाह्रो होला ?
त्यसो त जर्मन टीम विश्वकपमा जहिले पनि बलियो दाबेदारका रूपमा प्रस्तुत हुन्छ । चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा देखाएको जोश जर्मनीसँग अझै रहेको छ त ? लीग चरणमा उसले एसिया, युरोप र दक्षिण अमेरिकाका शक्तिशाली टोलीहरूको सामना गर्दैछ । एफ समूहका सबै खेलहरूरू उत्तिकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
जर्मनीका प्रभावशाली खेलाडी मिरोस्लाभ क्लोस र फिलिप लामले संन्यास लिएका कारण विश्वकप फेरि जित्ने उसको चाहनामा अलिकति धक्का लागेको छ । तर स्टार खेलाडीहरू नभएपनि जर्मन टोली एकढिक्का भएर खेल्ने हुनाले
उनीहरू अघिल्लो विश्वकपभन्दा पनि बढी शक्तिशाली रहेको विश्लेषण गरिएको छ ।
सान्द्रो वाग्नर र टिमो वर्नरले जर्मन अट्याकलाई क्लोसको अनुपस्थितिको अनुभव हुन दिएका छैनन् भने जोशुआ किम्मिचले सबै भूमिकामा उत्तिकै अब्बल प्रदर्शन गर्ने हुनाले उनी पनि टीमका एसेट हुन् ।
गोलकीपर तथा कप्तान म्यानुअल नेउर अघिल्लो सेप्टेम्बरदेखि सक्रिय नभएकोमा चाहिँ प्रशिक्षक ल्यो चिन्तित छन् । उपकप्तान मार्क–आन्द्रे तेर स्टेगेन त टीममा छन् तर नेउरको जस्तो प्रभाव छोड्न अरू खेलाडी सफल हुँदैनन् ।
आफ्नो समूह जितेर अघि बढ्न जर्मनीलाई समस्या नहुनुपर्ने हो तर प्रिक्वार्टरफाइनलमा ब्राजिलसँग भिड्नुपर्ने अवस्था आउन सक्ने देखिएकाले समूहविजेता नबन्ने प्रयास जर्मनीले गर्न सक्छ ।
मेसुट ओजिलले कहिले अद्भुत खेल प्रदर्शन गर्छन् भने कहिले साह्रै झुर खेलिदिन्छन् । टोनी क्रूस जस्तै उनी जर्मनीका लागि गोलका प्रशस्त अवसरहरू सिर्जना गर्नुपर्ने भूमिकामा छन् । जर्मन टोलीका सबभन्दा प्रतिभाशाली खेलाडी भनी चिनिने ओजिलले विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा प्रशंसकहरूले गरेका छन् ।
जर्मनी एफ समूहमा छ र उसका प्रतिस्पर्धीहरू मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेका छन् ।
एजेन्सी