
काठमाडौं, ७ जेठ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माण क्षेत्रमा ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
आज (सोमवार) गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डका सदस्यलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन आग्रह गरे ।
‘बिगतमा जे–जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्,’ गृहमन्त्री बादलले भने, ‘सरकारले अब ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’
निर्माण व्यवसायीहरुले हरेक कामका लागि सरकारी कर्मचारीलाई घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री बादलले अब त्यस्तो रकम नदिन व्यवसायीलाई सुझाव दिए ।
‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस् । उनीहरुलाई तत्कालै जेल हाल्छौं,’ गृहमन्त्री बादलले भने ।
उनले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखे उनीहरुलाई पनि कारबाही गरीने स्पष्ट पारे ।
विगतमा मन्त्री, कर्मचारीदेखि ठेकेदारसम्मको मिलेमतोमा यस्ता गलत कार्य ढाकछोप हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्वीकार्य नहुने गृहमन्त्रीको भनाइ थियो ।
उनले बिभिन्न पार्टी तथा संगठनका नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गरे । मन्त्री बादलले जबरजस्ती चन्दा माग्नेहरुको विवरण गृह मन्त्रालयलाई दिन पनि आग्रह गरे ।
व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री बादलले भने, ‘तपाईंहरुले पनि इमान्दारिताका साथ कानून र नियमसँगत काम गर्नु पर्यो ।’
मन्त्री थापाले सार्वजनिक खरिद ऐनका कारण समेत निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै आवश्यकता अनुसार ऐन संसोधन गरीने समेत जानकारी दिए ।
विकास निर्माण कमसल हुने गरेको उल्लेख गर्दै गृहमन्त्रीले व्यवसायीलाई भने, ‘मिलेमतोमा सिमेण्ट र बालुवा १÷३ भाग मिलाउनुपर्ने ठाउँमा १÷१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस् ।’
निर्माण व्यवसायीहरुले आवश्यकताअनुसार बालुवा, गिट्टी नपाइने, फलामे डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफूहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो गृह मन्त्रीसँग राखेका थिए ।