
धनगढी, ७ जेठ– प्रदेश नम्बर ७ काे सरकारले आज (सोमबार) देखि ‘हेल्लो सीएम’ सेवाको विधिवत शुरूवात गरेको छ ।
जनताको जनगुनासो सुन्न र समाधान गर्न पैसा नलाग्ने १६६०–९१५२७२३ टोल फ्रि नम्बरसहितको हेल्लो सीएम सेवाको शुरूवात भएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले आज एक कार्यक्रमकाबीच उक्त सेवाको उद्घाटन गरेका छन् । उनले अछाम जिल्लाका स्थानीय करनजंग शाहीको पहिलो गुनासो सुन्दै सेवाको शुरूवात गरेका थिए । शाहीले बढ्दो ट्राफिक समस्या समाधानको लागि मुख्यमन्त्री भट्टसंग माग गरे । जवाफमा मुख्यमन्त्री भट्टले तत्काल समाधानको पहल गरिने बाचा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार र जनतालाई जोड्ने उदेश्यका साथ हेल्लो सीएमको शुरूवात गरेको बताए । ‘यो सेवामार्फत हामी गुनासो सुन्नलाई मात्रै होइन, तत्काल गुनासो समाधान गर्नलाई शुरूवात गरेका हौं,’ मुख्यमन्त्री भट्टले भने, ‘यो सेवा ग्रामीण जनतासम्म पुर्याउने हाम्रो मुख्य लक्ष्य हो ।’
'हेल्लो सीएम' सेवामार्फत आएका समस्या तथा गुनासोलाई बर्गीकरण गरी समाधान गरिने भएको छ । तत्काल समाधान गर्न विषयको गुनासो तथा समस्यालाई चार घण्टाभित्रै समाधान गरिने प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले बताए ।
त्यस्तै, समान्य प्रकृतिका गुनोसोलाई तीन दिनदेखि एक हप्ताभित्र समाधान गर्ने मुख्यसचिव पौडेलले जनाए । २४ औं घण्टा गुनासो सुन्ने बताउँदै उनले तत्कालले केहि प्राविधिक काम जारी रहेकोले विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने पनि उल्लेख गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त हेल्लो सीएम सेवामा दुर्घटना, विपद सम्बन्धी घटना र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ ।
प्रदेशस्थित सार्वजनिक निकायसे वितरण गर्ने सेवा सुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको अवस्थामा, सार्वजनिक निकायबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको अवस्थामा, सार्वजनिक निकायको गैरकानूनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको अवस्थामा हेल्लो सीएममा गुनासो राख्न सकिने भएको छ ।
त्यस्तै, संविधान र प्रचलित कानूनप्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा र भष्टाचार तथा महिला हिंसा वा अन्य लैंगिक हिंसा सम्बन्धी क्रियाकलाप भएमा गुनासो गर्न सकिने जनाइएको छ ।
हेल्लो सीएम सेवा संघीय सरकारको हेल्लो पिएमको ढाँचामा सञ्चालन हुने बताइएको छ ।