०८ असार २०८३, सोमबार

मुख्य समाचार : हिरासतमा खतरा रहेको गोरेको दाबी-सुरक्षा दिन अदालतको आदेश, चार्टर उडान बन्द

मुख्य समाचार : हिरासतमा खतरा रहेको गोरेको दाबी-सुरक्षा दिन अदालतको आदेश, चार्टर उडान बन्द

काठमाडौं, १० जेठ–सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । 

प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारीवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न भन्दै गोरेले बुधवार अदालतमा निवेदन चढाएका हुन् । 

यसैबीच, उनलाई भरपर्दो सुरक्षा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा बयानका क्रममा गोरेले आफूलाई हिरासतमै खतरा भएको बताएका थिए ।

सुन तस्तरी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ छ । 

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । बुधवार अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन । 

अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत बयानमा उल्लेख गरेका छन् । तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम भने बताउन चाहेन ।

२८ अभियुक्तलाई पठाइयो झुम्का कारागार
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गरेका सबै २८ जनालाई बुधबार झुम्का कारागार पठाएको छ । मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले झुम्का कारागार पठाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानूनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले बुधबार सम्पत्ति सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । 

रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।  मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ । 
गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०.७५ धुर जग्गा रहेको छ ।  सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ । 

त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 
अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

आफूसँग पुरानो एक थान साइकल रहेको पनि बताएका छन् । त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता 
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन् । 
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी थिए ।

आजदेखि पहाडी जिल्लामा चार्टर उडान बन्द
नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान बिहीबारदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो । 

निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने भएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार बिहीबारदेखि नेपालगन्जबाट हुने सबै चार्टर उडान बन्द हुनेछन् भने समान भाडा दरसमेत कायम गरिएको छ । 

यसअघि सहुलियत उडानका नाममा हप्तामा एउटासम्म उडान गर्दै बाँकी ९० प्रतिशतभन्दा बढी चार्टर उडान हुने गरेको थियो । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने प्रमुख तिवारीले बताउनुभयो । चार्टर बिमान बन्द गर्दा सबै यात्रुले तोकिएको समान शुल्कमा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । 

हाल नेपालगंजबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सञ्चालन गर्दै आएका छन् ।

संसद् बैठक आज पनि बस्ने 
संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखे ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको अर्काे बैठक आज बिहान १० बजे बस्नेछ । 

संयुक्तरुपमा कार्यक्रम गर्न प्रेस चौतारीको निर्देशन 
प्रेस चौतारी नेपालको सचिवालय बैठकले एकताको भावनालाई देशैभर फैलाउन मातहतका कमिटीलाई प्रेस सेन्टर नेपालसँग समन्वय गर्न र संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार बसेको बैठकले दुई ठूला कम्युनिष्ट गठबन्धनबीच हालै भएको एकताको स्वागत गर्दै एकतालाई बल पुग्ने गरी सबै जनवर्गीय संगठनले संयुक्त रुपमा कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

नेपाल कम्युनिस्ट पार्टी
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक आज ४ बजेको लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निर्वाचन आयोगलाई केन्द्रीय सदस्यहरूको हस्ताक्षर बुझाउने विषयमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिने बताइएको छ । गत जेठ ३ मा एकीकरण भएका पूर्वएमाले र माओवादी केन्द्रका तर्फबाट छानिएका सदस्यहरुको नामावली सहितको हस्ताक्षर आयोगलाई बुझाउन बाँकी छ । 

कालो हिरासहित आठ जना पक्राउ
प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो । 

क्रिकेटर लामिछानेलाई कार उपहार
इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई बुधबार कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए । जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्