
काठमाडौं, १० जेठ – दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगार्न उक्साएको आरोप लागेका अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नरकी पत्नीको उक्त घटनापछि गर्भपात भएको खुलासा भएको छ ।
क्यान्डिस वार्नरले मार्चमा गरिएको पत्रकार सम्मेलनको एक हप्ताभित्र गर्भपात भएको बताइन् । पतिको बेइज्जतीका कारण आएको डिप्रेसन अनि घर फर्किंदाको लामो उडानका कारण यसो भएको उनले बताइन् ।
क्यान्डिस वार्नरले अस्ट्रेलियामा महिलाहरूको एक साप्ताहिक पत्रिकालाई बताइन्, ‘मैले डेभिडलाई बाथरूममा बोलाएर रगत बगिरहेको बताएँ । हाम्रो बच्चा नरहेको हामीले थाहा पायौं । अनि हामी एकअर्कालाई समातेर खुबै रोयौं । यो
घटनाले हाम्रो दिल तोड्यो । बल बिगारेको आरोपमा अपमान सहिरहेका थियौं अनि यो घटना भएपछि हामीलाई सहन एकदम गाह्रो भयो । त्यसपछि हामीलृ निश्चित ग–यौं, यस्ता घटनाले अब हामीलाई कुनै असर पार्दैनन् ।’
वार्नरका दुई बच्चाहरू आइवी माए र इन्डी राए छन् ।
बल बिगारेको विवाद आएपछि अस्ट्रेलियाका उपकप्तान रहेका डेभिड वार्नरलाई क्रिकेट अस्ट्रेलियाले १२ महिनाका लागि प्रतिबन्ध लगाएको थियो ।
क्यान्डिस वार्नरले प्रेग्नेन्सी टेस्ट पोजिटिभ आउँदा आफूलाई निकै आनन्द लागेको तर बच्चा खेर जाँदा दिलै टुटेको बताइन् ।
एजेन्सी