
आयरल्याण्डमा शुक्रवार(२५ मे) मा हुन लगेको जनमतसङ्ग्रहमा मत दिन नागरिकहरु हजारौंको संख्यामा परदेशबाट स्वदेश फर्किरहेको जानकारी प्रेस रिपोर्टहरुमा लगातार आइरहेका छन् । यसमा महिला धेरै छन् ।
करीव ३१ लाख मतदाताले भाग लिन पाउने यस जनमतसङग्रहले आयरल्याण्डमा गर्भपतनलाई वैधता दिने वा नदिने विषयको टुङ्गो लाग्नेछ ।
अहिले बहाल रहेको संविधानले गर्भवती आमा र नजन्मेको शिशुको प्राणलाई बराबरी महत्व दिएको छ । तसर्थ गर्भपत निषिद्ध छ ।
संविधानको आठौं संशोधनमा परेको यो व्यवस्था खारेज गर्नुपर्ने पक्षमा सशक्त आवाज उठ्दै आएको छ । किनभने हालको व्यवस्थाले बलात्कारको शिकार भएकी महिलाले समेत गर्भपतनको सेवा लिन पाउँदैनन् ।
लुकिछिपी बेलायतका शहरमा गएर निजी क्लिनिकबाट गर्भपतनको सेवा लिने प्रचलन छ । बेलायतको ऐनले सीमित अवस्थामा गर्भपतन गर्न पाइने कानूनी व्यवस्था सन् १९६७ मै गरेको हो ।
क्लिनिक सञ्चालकहरुले सम्पर्कमा आउने गर्भवतीहरुलाई बच्चा जन्माउने, गर्भपतन गर्ने र बाल बालिकालाई धर्मपुत्र–धर्मपुत्री राख्ने विकल्पहरु स्वेच्छाले छान्न दिन्छन् ।
गर्भपतनलाई संवैधानिक बन्देज कायम राखी रोक्नुपर्छ भन्नेहरु जन्मिन पाउने शिशु अधिकारको सशक्त वकालत गर्दछन् । १२ हप्तासम्मको गर्भ सहजै फाल्न पाइने र विशेष अवस्थामा ६ महीनाको गर्भ पनि मिल्काउन पाइने प्रस्तावित व्यवस्था कार्यान्वयन भयो भने आयरल्याण्डको कानून युरोपमै सबैभन्दा उदार हुन जानेछ ।