१३ असार २०८३, शनिबार

ओली–प्रचण्डको केन्द्रीय सदस्यलाई यस्तो  निर्देशन

जेठ ११, २०७५
ओली–प्रचण्डको केन्द्रीय सदस्यलाई यस्तो  निर्देशन

 काठमाडौं, ११ जेठ- नेपाल कम्युनिस्ट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता बलियो एवं भ्रष्टाचार न्यूनीकरण अभियानमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार सम्पन्न पार्टीको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकतालाई मजबुत बनाउन पार्टीले दिइएको जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर एवं नागरिकता प्रतिलिपिका लागि प्रधानमन्त्री निवास बालुवाटरमा केन्द्रीय सदस्यको अनौपचारिक बैठक बोलाइएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टीले दिएको जिम्मेवारीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले पार्टीलाई विधि एवं प्रक्रियासम्मत रूपमा सञ्चालन गर्न तथा संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न र हुन पनि नदिन निर्देशनसहित भ्रष्टाचार गर्नेलाई कारबाही गर्न निर्देशन दिएको बताए ।

‘पार्टीले दिएको जिम्मेवारीअनुसार तोकिएको क्षेत्रमा निष्पक्ष रूपमा काम गर्न निर्देशन अध्यक्षद्वयले दिनुभयो,’ श्रेष्ठले भने, ‘हामी पनि भ्रष्टाचार गर्दैनौं, अरूलाई पनि गर्न दिँदैनौं र भ्रष्टाचार गर्नेलाई कारबाही गर्छौं ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुई ठूला कम्युनिस्ट पार्टीबीचमा भएको एकता विश्व राजनीतिक इतिहासमै सबभन्दा ठूलो सफलता रहेको बताए । एकताले चुनौती पनि थपिएकाले मुलुक र जनताको विकासमा सरकारले ध्यान दिने बताउँदै उनले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र अरूलाई समेत गर्न नदिने उल्लेख गरे ।

यसैगरी, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले कम्युनिस्ट पार्टीका नेताहरूको बानीबेहोरा बिग्रेको र पार्टीमा नातावाद, कृपावाद बढेको बताउँदै यसको अन्त्य गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टी टुटफुटबाट नभई जुटेर अगाडि बढ्ने र मुलुक तथा जनताको चाहना पूरा गर्ने उनले बताए, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्