
धनगढी, १४ जेठ– प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सात दिनभित्र यातायात सेवा व्यवस्थापन गर्न मातहतका मन्त्रालय तथा कार्यालयलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सिएम’ कार्यक्रम शुरु गरेयता यातायात व्यवस्थापनबारे जनगुनासो बढेपछि मुख्यमन्त्री भट्टले मातहतका निकायलाई आइतबार आफ्नो कार्यकक्षमा छलफलको लागि बोलाएर निर्देशन दिएका हुन् ।
प्रदेशस्थित प्रमुख शहरहरुमा अव्यवस्थित यातायातले सुरक्षा संवेदनशिलता बढेको भन्दै हेल्लो सिएममा जनगुनासो बढेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको सहभागितामा भएको छलफलमा कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत यातायात सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।