
काठमाडौं, १४ जेठ – लिभरपूलका गोलकीपर लोरिस कारियसले च्याम्पियन्स लीगको फाइनलमा रियल मड्रिडका विरुद्ध गरेको दुई गल्तीका लागि प्रशंसकहरूसँग माफी मागेका छन् । आफ्नो गल्तीका कारण टोली ३–१ गोलको अन्तरले हारेपछि राति सुत्न नसकेको उनी बताउँछन् ।
यी जर्मन कीपरले भूलवश बल करीम बेन्जेमाको गोडामा फ्याँकेपछि गोल भएको थियो । अनि ग्यारेथ बेलले गरेको दोस्रो गोललाई आफ्नो हातैबाट उनले छिर्न दिएपछि लिभरपूल खेलमा फर्किनै सकेन ।
‘म अहिलेसम्म राम्ररी सुतेकै छैन । ती दृश्यहरू मेरो मस्तिष्कमा घुमेको घुम्यै छन् । म मेरा टोलीका साथी, मेरा प्रशंसक र सबै कर्मचारीप्रति असीमित क्षमा माग्छु । मैले दुई गल्ती गरेर सत्यानाश गरें अनि तपाईंहरू सबैलाई निराश बनाएँ,’ कारियसले आइतवार ट्विटरमा लेखे ।
कारियसलाई उनका प्रशिक्षक युर्गेन क्लोपले म्याचपछि समर्थन गरेको भएपनि लिभरपूलका प्रशंसकहरूले माफी दिएनन् । मर्सीसाइड प्रहरीले कारियसलाई ज्यानको धम्की आएकोमा अनुसन्धान गरिरहेको बेलायती मिडियाले लेखे ।
‘प्रहरी बल यस्ता प्रकृतिका सामाजिक सञ्जाल पोस्टहरूलाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छ र कुनै कसूर भएका रहेछन् भने त्यसको अनुसन्धान गर्छ,’ प्रहरीका एक प्रवक्ताले डेली टेलिग्राफ पत्रिकालाई बताए ।
एजेन्सी