१८ असार २०८३, बिहीबार

जसलाई बजेटले छोएन : सर्वसाधारणको चिन्ता – महंगी बढ्ने भयो !

जेठ १६, २०७५
जसलाई बजेटले छोएन : सर्वसाधारणको चिन्ता – महंगी बढ्ने भयो !

काठमाडौं, १६ जेठ –‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएको नेपाल कम्युनिष्ट पार्टीको सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष  २०७५/०७६ का लागि वार्षिक बजेट प्रस्तुत गरे । 

बजेटको विषयलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक यातायात र चिया पसलहरूमा समेत चर्चा भइरहेको छ । चुनावी घोषणापत्रमा महत्त्वाकांक्षी योजना अगाडि सारेको वामपन्थी सरकारले ल्याएको बजेटप्रति सर्वसाधारण भने खासै उत्साही देखिएनन् ।

बजेटमा सुत्केरीको भत्ता दोब्बर गर्नेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने विषयहरू समेटिएका छन् । तर दैनिक श्रम गरेर जीविका चलाएका न्यून आर्थिक हैसियत भएका वर्गले भने आफूहरूलाई बजेटले छुन नसकेको गुनासो गरेका छन् । 

काठमाडौंको रत्नपार्क नजिकै सडकछेउमा कागती बेच्न बसेकी देवी चौलागार्इं सरकारको बजेट सरकारमै हुनेलाई मात्र आएको प्रतिक्रिया दिइन् । बिहानदेखि साँझसम्म सडकमा कागती बेच्न ग्राहक कुरेर दैनिकी चलाउँदै आएकी चौलागार्इंले सरकारको बजेट भाषण हेर्न र सुन्न पाइनन् । बजेट आयो रे भन्ने मात्रै थाहा पाएकी उनलाई हरेक वर्ष आउने बजेटपछि महंगी बढ्ने चिन्ता मात्रै छ ।

‘बजेट त आयो, हुनेखाने, सरकारमै रहेकाहरूलाई आयो । हामीलाई केही आउने होइन, हामीलाई त फेरि महंगी बढ्ने होला,’ उनले लोकान्तरसँग भनिन्, ‘बजेटले हामीलाई के नै दियो र ?’

उनले सरकारसँग नै डराउँदै सडकमा व्यापार गर्नुपर्ने आफ्नो बाध्यता रहेकोे सुनाइन् । ‘नगरपालिका आयो भने सबै उठाएर लैजान्छ, भाग्दै व्यापार गर्नुपर्छ, काम नगरी पनि भाछैन, यही व्यापार गरेर बिहान बेलुकाको छाक टरेको छ, बालबच्चाले पढ्न पाएका छन्,’ उनले पीडा पोखिन्, ‘आफूसँग पूँजी भए त राम्रोसँग शटर किनेर व्यपार गरेर बस्न हुन्थ्यो नि ! महिनाको ५,७ हजार कोठा भाडा तिर्न मुश्किल छ, कहाँबाट सक्नु ठूलो व्यापार गर्न ? कसलाई रहर हुन्थ्यो होला सडकमा भागी भागी व्यापार गर्न ?’

काठमाडौंकै सडकमा जुत्ताचप्पल सिलाउँदै आएका भक्तपुरका शम्भु नेपालीलाई पनि बजेटले खासै छोएन । बाईस वर्षदेखि सडकमै जुत्ता पालिस गरेर टल्काउने काम गरेका उनको जीवनमा गणतन्त्र आएपछि पनि खासै परिवर्तन आएको छैन । दिनभर कमाएको पैसा दैनिक जीविका चलाउँदै ठिक्क हुँदा नेपालीले भूकम्पले भत्किएको घर समेत उठाउन सकेका छैनन् ।

उनले हरेक वर्ष आउने बजेटले आफूलाई केही फाइदा नहुने बताए । ‘हिजो दिउँसो बजेट आयो भन्ने त सुनें, तर बजेटले हामीलाई केही दिएन,’ नेपालीले लोकान्तरसँग गुनासो गरे । 

‘बजेट आउने भनेको ठेकेदार र सरकारकै मान्छेलाई हो, कुनै कामको बजेट २५ प्रतिशत पनि त्यही ठाउँमा खर्च हुदैन,’ उनले चप्पल सिलाउँदै भने, ‘हामीलाई केही फाइदा हुँदैन ।’

बजेटमा उल्लेख भएका विकास र कार्यक्रम खर्चको विषयमा जानकारी नभएपनि महंगी बढ्ने चिन्ता भने उनलाई छ । 

उनले भने, ‘हामी जस्तो गरीब दुःखीलाई बजेट आउनु भनेको त नूनतेलको भाउ बढ्ने मात्रै हो, अरू केही हुँदैन ।’

भृकुटीमण्डपमा फलफूलको व्यापार गरेर बस्दै आएकी विमला न्यौपानेले पनि बजेट भाषण सुनिन् । तर सरकारको बजेटमा उनलाई पनि त्यति चासो छैन । ‘अर्थमन्त्रीले छिटोछिटो बजेट भाषण गरे भन्ने सुनें,’ न्यौपानेले भनिन्, ‘बजेटले महंगी, र घरभाडा मात्रै बढ्ने हो ।’

आठ प्रतिशत आर्थिक वृद्धिको अपेक्षासहित अर्थमन्त्री खतिवडाले मंगलवार संसदमा १३ खर्ब १५ अर्ब बराबरको बजेट सार्वजनिक गरेका थिए । पाँच वर्षमा ५ लाख रोजगारी सृजना गर्ने, कृषिको परनिर्भरता हटाउने लगायतका कार्यक्रम बजेटमा समेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्