
नविन अर्याल
डेनमार्क, १६ जेठ – गणतन्त्र दिवसको अवसर पारेर डेनमार्कमा मंगलबार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
डेनमार्कस्थित नेपाली राजदूतावास तथा अन्य नेपाली संघ–संस्थाको संयुक्त पहलमा आयोजित कार्यक्रममा विभिन्न देशका राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, सभासद, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू र अन्य डेनिस उच्चपदस्थ अधिकरीहरूको उपस्थिति थियो ।
कार्यक्रममा डेनमार्कस्थित नेपाली राजदूत युवनाथ लम्सालले दिवसको महत्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपालको पहिचान झल्किने पञ्चेबाजासहित विभिन्न नाचगान र विभिन्न सांकृतिक प्रस्तुति देखाइएको थियो । डेनिसलगायत अन्य पाहुनाले नेपाली कार्यक्रम निकै चाख मानेर हेरेका थिए ।
त्यसक्रममा नेपालको पर्यटन प्रवर्द्धन हुने खालका सामग्रीहरू वितरणसमेत गरिएको थियो ।

यो कार्यक्रमलाई आउँदा वर्षहरूमा समेत निरन्तरता दिँदै पर्यटन प्रवर्द्धनका लागि नेपाली राजदूतावासले विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता नेपाली राजदूतावासका मिनिस्टर काउन्सिल डोरनाथ अर्यालले जनाएका छन् ।