३० जेठ २०८३, शनिबार

मुख्य समाचार : बजेट : लक्ष्य पूरा हुने सरकारको दाबी-भत्ता काटिएकाेमा काँग्रेसको आपत्ति, नाम फेर्ने नेकपाको तयारी

मुख्य समाचार : बजेट : लक्ष्य पूरा हुने सरकारको दाबी-भत्ता काटिएकाेमा काँग्रेसको आपत्ति, नाम फेर्ने नेकपाको तयारी

काठमाडौं, १७ जेठ– सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने बताए ।

त्यस्तै, सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी पनि अर्थमन्त्रीको छ ।

भत्ता काटिएकामा काँग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्गाैला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ ।

काँग्रेसले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एक हदसम्म राहत पुग्ने उक्त कार्यक्रमलाई निरन्तरता नदिइनु मानवीय दृष्टिले पनि बिल्कुलै गलत रहेको बताए ।

दुर्गम गाउँमा बस्ने नेपालीको औसत आयु ७० वर्षभन्दा तल रहेको वास्तविकतालाई ध्यानमा राखी काँग्रेसको सरकारले ६५ वर्षमै वृद्धभत्ता दिन गरेको निर्णय बजेटमा समाहित नगरिएकामा उनले गम्भीर आपत्ति जनाए ।

नाम फेर्ने नेकपाको तयारी
नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता भएको नेकपाले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको हो ।

नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । पार्टी संसदीय दलको बुधबारको बैठकमा भएको छलफलपछि बिहीबार आयोगमा निवेदन दिन लागिएको नेकपाले जनाएको छ । 

आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि तयारी भएको हो । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

यसअघि आफ्नो पार्टीको नाम राखेर दर्ता गराएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विरोध जनाएका थिए भने विप्लव नेतृत्वको पार्टी पनि नेकपाकै नाममा सञ्चालित छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई चयन गरेको छ । सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

बैठकले राष्ट्रिय सभातर्फ दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ ।

मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई
संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुग्यांउने जिम्मेवारी दलका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । फोरम नेपाल संसदीय दलको बुधबार सिंहदरवारमा बसेको बैठकमा कसलाई पठाउने भन्नेमा सहमति नबन्दा अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको हो । फोरम नेपालले दुईटा मन्त्रालय र एउटा राज्यमन्त्री पाएको छ । 

सेवा सुविधा सम्बन्धी विधेयक पारित
प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएपछि स्थानीय तहका जनप्रतिनिधिहरूले सेवा र सुविधा पाउने बाटो खुलेको छ । प्रदेशसभा ५ को बुधबार बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी परिमार्जित विधेयक पारित गरेको हो ।

प्रधानन्यायाधीश माग गर्दौ दोस्रो निवेदन दर्ता
सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति हुनुपर्ने माग गर्दै अधिवक्ता लक्ष्मीप्रसाद पोखरलले दोस्रो निवेदन दर्ता गरेका छन् । यसअघि पनि सर्वोच्चमा यस्तै रिट निवदेन दर्ता भएको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले प्रधानन्यायाधीश तत्काल नियुत्त गर्न माग गर्दै जेठ ६ गते रिट दायर गरेका छन् । लामो समयदेखि सर्वोच्च प्रमुख विहीन छ ।

श्रीनिवास जेल चलान
धर्मगुरू श्रीनिवास आचार्य जेल चलान भएका छन् । हातहतियार तथा खरखजना मुद्दामा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको हो । हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफैंमाथि गोली हान्न लगाएका थिए । 

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ ।

ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् ।

प्रदेश नं ४ को दोस्रो अधिवेशन शुरु 
प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) बुधबारदेखि शुरु भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक पेश गरेका छन् ।

अर्को बैठक जेठ १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने कार्यक्रम रहेको छ । 

नुवाकोट गोल्ड कप
बिहीबारबाट शुरु हुने प्रथम नुवाकोट गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट–११ र चितवन–११ भिड्ने भएका छन् । नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहने नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए । प्रतियोगता २६ गतेसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्