
काठमाडौं, १७– केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन दुई बुँदे सहमति गरेको संघीय समाजवादी फोरम नेपालमा मन्त्री छान्न सकस परेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको टुंगो लगाउन बुधबार दिनभर आन्तरिक छलफल र बैठक गरेको भएपनि मन्त्रीको नाम टुंगो लगाउन नसकेका हुन् ।
विहीबार(आज ) फोरमले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । त्यसपछि नाम टुंगो लाग्ने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
यसअघि हिजो फोरमको संसदीय दलको बैठकले सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो ।
फोरमबाट सरकारमा जान आधा दर्जन भन्दा धेरै सांसदले इच्छा व्यक्त गरेका छन् । संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले सरकामा क्षेत्रगत र समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका थिए ।
फोरममा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसाह यादव, प्रदीप यादव, हरिनारायण रौनियार लगायत मन्त्रीको आकांक्षी रहेका छन् ।
परराष्ट्र मन्त्रीको माग
फोरमले सहरी विकास र स्वास्थ्य मन्त्रालय पाउने छन् । तर फोरमले भने आफूले परराष्ट्र मन्त्रालय पाउनु पर्ने बताएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव सहरी विकासमा भन्दा परराष्ट्र मन्त्रालय सम्हाल्ने गरि जान चाहेका छन् । आफूले परराष्ट्र मन्त्रालय पाउनुपर्ने भन्दै उनी छलफलका लागि बालुवाटार गएका छन् । यादवले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग यस विषयमा छलफल गर्नेछन् ।
परराष्ट्र मन्त्रालय अहिले नेकपाका नेता प्रदीप ज्ञवालीले सम्हालिरहेका छन् । ज्ञवालीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गराए आफूले परराष्ट्र मन्त्रालय सम्हाल्ने प्रस्ताव फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली र प्रचण्डसँग गर्न लागेको स्रोतको दाबी छ ।