
काठमाडौं, १७ जेठ – इन्डोनेसियामा एक विमानमा बमको हल्ला फैलिएपछि यात्रुहरूमा भागदौड मच्चिएको छ । उनीहरू विमानबाट हाम्फालेका छन् । घटनामा १० जना घाइते भएका छन् ।
बोर्नियो टापुबाट जकार्ता जानका लागि उडान भर्ने तयारी गरिरहेको लायन एयरको बोइङ ७३७ विमानमा घटना हुँदा १८९ यात्रु थिए ।
प्रहरीका अनुसार, मानिसहरूले २६ वर्षीय यात्री फ्रान्टीनुस निरगीले फ्लाइट अटेन्डेन्टसँग विमानमा बम राखेको कुरा गरेको सुने ।
यो सुन्नेबित्तिकै विमानमा भागाभाग भयो । यसै क्रममा एक यात्रीले संकटकालीन झ्याल फुटाइदिए । अनि धेरै यात्रीहरू विमानको दाहिनेतिरको पंखाबाट उफ्रिँदै भागे । केही चाहिँ दाहिनेतर्फकै इन्जिनबाट चिप्लिएर रनवेमा पछारिए ।
निरगीका साथै संकटकालीन झ्याल फुटाउने यात्रीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार, अनुसन्धान गर्दा विमानमा कुनै बम भेटिएन । विमानबाट हाम्फालेका आठ यात्रुको हाड भाँचियो । केहीलाई टाउकोमा चोट पनि लागेको छ ।
एजेन्सी