
सुर्खेत, १८ जेठ– चौकुने गाँउपालिकाले ८ लाखको लगानीमा वडा नं. ३ को वेतानस्थित सोभानचौरमा डिप बोरिङ सञ्चालनमा ल्याएको छ । डिप बोरिङबाट सोभानचौरका स्थानीय कृषकहरू हर्षित भएका छन् ।
नजिकै कर्णाली बगेको देखिने तर सिंचाइमा प्रयोग गर्न नसकिएको उक्त क्षेत्रमा गाउँपालिकाले बोरिङ निर्माण गरेपछि वडा नं. ५ को मायाताल र वडा नं. ९ र १० मा पनि पानी निकालिएको अध्यक्ष धिरबहादुर शाहीले बताए । अध्यक्ष शाहीले चौकुनेलाई समृद्ध बनाउन कृषि क्षेत्रमा लगानी आवश्यक पर्ने बताए ।
आगामी आर्थिक वर्षमा चौकुने गाउँपालिकाले कृषि क्षेत्रमा थप लागनी गर्ने उनको प्रतिबद्धता थियो । एक सय घरधुरी रहेको सोभानचौरमा सिंचाईका लागि पर्याप्त पानी आएपछि केशर नाम्लाली हर्षित देखिएका हुन् ।

उनले अब आफूहरू तरकारी खेति गर्ने र व्यवासायिक कृषकको रुपमा अघि बढाउने बताए । गाँउपालिकाले कर्णालीको पानीलाई डिप बोरिङ गर्दै किसानको खेतमा पानी ल्याएको र आगामी दिनमा उक्त बोरिंगको हेरचाह गर्दै सोभानचौरलाई विशेष गाउँ बनाउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
स्थानीय रामकुमारी दर्लामीले बोरिंगबाट सिंचाइकालागि पानी ल्याएपछि अब यहाँको गरिबी हटाउन मद्दत पुग्ने दाबी गरिन् । उनले आगामी दिनमा गाउँपालिकाले तरकारी खेतिका लागि आवश्यक तालिम तथा अन्य सहयोग गरेको खण्डमा सोभानचौरलाई नमूना गाउँ बनाउन सकिने बताइन् ।
सोभानचौरमा उक्त डिप बोरिङ एक सय मिटर गहिरो गाडिएको छ भने बोरिङबाट ३ इन्च पानी निरन्तर आउने गर्दछ । बोरिङ सञ्चालन गर्न जेनेरेटर राखिएको स्थानीय नन्दराम खनालले लोकान्तरलाई जानकारी दिए ।