
काठमाडौं, १८ जेठ -पाल्पाको रम्भादेवी गाउँपालिका वडा नम्बर ४ हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ पुरुष र ३ महिला रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक चन्द्र थापाले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल तानसेन पठाइएको छ ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूलाई लिएर तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान करीब ९ बजे दुर्घटनामा परेको हो ।
बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
२७ जनाका लागि भनेर बस रिजर्भ गरिएको खुले पनि बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।
प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य जारी छ ।