
संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाको एक डफ्फा युद्धग्रस्त मुलुक लिबियामा जाने तयारीमा छ। प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा केही महिला अधिकृत सहित २३४ को टोलीले करिव वर्षदिन त्यहाँ रहेर शान्ति र सुव्यवस्थाको लागि आवश्यक योगदान गर्नलागेको जानकारी जंगी अड्डाले भर्खरै सार्वजनिक गरेको छ।
लिबियाको नियोग नेपाली सेनाको संलग्नता भएको १६ औं नियोग हुँदैछ। राष्ट्रसंघका १५ अन्य स्थानमा तैनाथ शान्तिसेनामा चार हजार ४६८ नेपाली सैनिक क्रियाशील रहेको अवस्था छ। अर्थात् जहाँ-जहाँ राष्ट्रसंघका 'नीलो टोप' लगाउने सैनिक कार्यरत छन् त्यहाँ-त्यहाँ नेपालीको उपस्थिति छ।
लिबियाको नियोगसित थप केही कुरा जोडिएका छन्; र यो विषय इराक र सिरियाको भौगोलिक निकटतासित मात्र सम्बन्धित छैन। यसमा मुख्य कुरो राष्ट्रसंघका तर्फबाट त्यहाँ पुग्ने पहिलो टोली नै नेपालको हुँदैछ। अन्य देशका शान्तिसैनिक टोली त्यहाँ जान हिच्किचाइरहेका थिए र लिबियामा कार्यरत हुनुपर्ने कार्यालय समेत ट्युनिसियामा राखिएको थियो। अब लिबियामा राष्ट्रसंघको उपस्थिति नेपाली सेनाको टोलीको राजधानी त्रिपोलीमा आगमन सँगसँगै हुने भएको छ। 
सम्भवतः यसैसित गाँसिएको चुनौतीलाई ध्यानमा राखेर होला, खास प्रकारका सीप, तालीम र दक्षतायुक्त सैनिकहरूको टोलीलाई त्यसतर्फको जिम्मेवारी दिएको देखिन्छ। अर्को शब्दमा, नेपाली टोली लिबियाको सन्दर्भमा अग्रिम सैन्यदस्ता हुँदैछ जसको मुख्य उद्देश्य द्वन्द्वग्रस्त देशका जनतालाई सामान्य अवस्थामा फर्काउनु हो। सैनिकक्षेत्रमा नेपालीहरूको अनुभवजन्य कुशलता त छँदै छ, त्यसका अतिरिक्त नेपाली द्वन्द्वरत पक्षहरूका बीच समन्वयकारी भूमिका निर्वाह गर्न सक्दछन् भन्ने अनुकूल अन्तर्राष्ट्रिय अवधारणा समेत निर्माण भएको छ। सरोकारवाला पक्षहरूका बीच नेपालीहरूको सकारात्मक तटस्थताको छवि पनि भएकोले नेपाली शान्तिसेनाका एकाइले जहाँसुकै स्वीकार्य मानिने गरेका छन्।
शान्तिसेनामा नेपालको अनुभव झन्डै छ दशकको भैसकेको छ। साहस,इमान्दारी र कर्तव्यनिष्ठामा लामो अनुभव एवं ख्याति कमाएको नेपाली सेनाको सैनिक अधिकृत तथा जवानहरूले लिबियाको नियोग ( यु एन सपोर्ट मिसन इन लिबिया ) मा पनि आफ्नो कार्यकुशलताको प्रदर्शन गरी सफलता हासिल अपेक्षा राख्न सकिन्छ। सामुन्ने आएको चुनौतीलाई ज्ञान र सीप तिखार्ने समेतको सार्थक अवसरमा परिणत गर्न नेपाली सैनिकहरू सक्षम हुनेमा ढुक्क होऔं।