०३ असार २०८३, बुधबार

मुख्य समाचार : नेकपाले पायो कानूनी मान्यता-आज प्रमाणपत्र बुझ्ने, सर्वोच्चको आदेशविपरीत यातायात सञ्चालन

मुख्य समाचार : नेकपाले पायो कानूनी मान्यता-आज प्रमाणपत्र बुझ्ने, सर्वोच्चको आदेशविपरीत यातायात सञ्चालन

काठमाडौं, २४ जेठ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको मान्यता दिएको हाे ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको थियाे । केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या नपुर्याए पनि नेकपालाई निर्वाचन आयोगले दर्ता गरेको हो । 

पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । आयोगको बुधबारको बैठकले दलको हैसियतमा कानूनी मान्यता दिएको जानकारी दिँदै नेकपा नेता सुवास नेम्बाङले बिहीबार दिउँसो १ बजे आयोगले प्रमाणपत्र लिनका लागि आमन्त्रण गरेको बताए ।

चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव 
राष्ट्रिय जनता पार्टी नेपालले रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ । राजपाको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो । 

चौधरीलाई रिहा गरी शपथको व्यवस्था गर्नुपर्ने, टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । 

सर्वोच्चको आदेशविपरीत यातायात सञ्चालन
बीपी राजमार्गमा बढी भारवहन क्षमताका गाडी नचलाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन भएको छैन । बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो । 

सर्वोच्चको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाधरुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई मिलेमतोमा सञ्चालन गर्न दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू हुने
प्रदेश ५ को सरकारले मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशका ३५ स्थानीय तहमा आगामी तीन वर्षभित्र ती स्थानीय तहका जनतालाई मूल प्रवाहीकरणमा पुर्याउने गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
प्रदेश सरकारका तर्फबाट चालु आवमा ल्याइएको नीति तथा कार्यक्रममा प्रदेशका अतिपिछडिएका क्षेत्रका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम घोषणा गरिएको थियो । 

सोही कार्यक्रमअन्तगत प्रदेशका उच्च पहाडी, मध्य पहाडी र तराईका १२ जिल्लाका ७३ गाउँपालिकामध्ये ३५ स्थानीय तह मानव विकास सूचकांकमा निक्कै पछाडि रहेको पहिचान गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गर्ने सरकारले निर्णय गरेको हो । 

स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित
प्रदेश नं ७ को प्रदेशसभाको बैठकबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरिएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक छलफल तथा पारित गर्नका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यलाई पनि तलबको व्यवस्था गरिएको छ ।  पारित विधेयकमा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकले पाउने पारिश्रमिकमा केही वृद्धि गरिएको छ ।

वीर अस्पताल निर्माण शुरु
सरकारले चाँगुनारायण नगरपालिकामा वीर अस्पताल बिस्तारका लागि रु ३० करोड बजेट विनियोजन गरेको छ । चाँगुनारायण– ११ र १४  मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा वीर अस्पताल विस्तार गर्न प्रारम्भिक कार्य गर्न उक्त बजेट विनियोजन गरिएको हो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले अस्पताल विस्तारको काम अगाडि बढेको जानकारी गराउँदै भने, “यस वर्ष सरकारले रु ३० करोडको बजेट छुट्याएको छ, यो बजेटबाट अस्पतालको डिपिआर बनाइने, जग्गाको सीमाङ्कन गरेर तारबार लगाइने र वातावरणीय परीक्षण इआइए गरिने भएको छ ।”

संसदीय दलको नेता चयन 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेता चयन गरेको हो ।  

मुग्लिङ–नारायणघाट सडक जोडियो कालोपत्रबाट
मुग्लिङ–नारायणघाट सडकलाई एशियाली राजमार्गस्तरको दुई लेनमा स्तरोन्नति गरी कालोपत्र गरिएको  छ ।

विसं २०७१ चैतमा तीन निर्माण कम्पनीसँग विसं २०७४ वैशाखसम्म विस्तार सक्ने गरी सम्झौता भएकामा भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण एक वर्ष ढिला गरी बुधबारदेखि यो सडक जोडिएको विभागका प्रवक्ता मुक्ति गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । 

सडक कालोपत्रले जोडिएसँगै बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यातायात रोकिने गरेकामा हटेको छ ।

सशस्त्र द्वन्द्वमा जलेका लालपुर्जा वितरण शुरु
सरकारले तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु गरेको छ ।

द्वन्द्वका क्रममा लालपूर्जा जलेपछि पुनःनापी गरेर लालपुर्जा वितरण गर्न लागिएको छ । लालपुर्जा वितरण कार्यको शुरुआत अर्घाखाँचीबाट भएको छ । कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बाट लालपूर्जा वितरण शुरु गरे ।

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समीकरण पूरा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल,  नेपाल पुलिस क्लब र प्रदेश नं ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिस प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा हार व्यहोरे तापनि प्रदेश ५ सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा समूह ‘ए’ बाट आर्मी र एपिएफ क्रमशः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा यसअघि नै पुगिसकेका छन् । शुक्रबारदेखि शुरु हुने सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘बी’को उपविजेता प्रदेश ५ सँग तथा समूह ‘ए’ को उपविजेता एपिएफले समूह ‘बी’को विजेता नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्