२७ असार २०८३, शनिबार

विश्वकपमा बेल्जियम : सेमीफाइनल नै ठूलो सफलता, स्टार खेलाडीले मेटाउलान् 'अभागी' बिल्ला ?

विश्वकपमा बेल्जियम : सेमीफाइनल नै ठूलो सफलता, स्टार खेलाडीले मेटाउलान् 'अभागी' बिल्ला ?
Photo : FOX Sports

काठमाडौं, २४ जेठ - 'विश्वकप जित्ने हो भने सबैभन्दा पहिला हाम्रो मानसिकतामा रहेको बाधालाई पन्छाउनुपर्छ,' यो भनाइ बेल्जियम राष्ट्रिय फूटबल टीमका प्रशिक्षक रोबर्टो मार्टिनेजको हो ।

हुन पनि हो, बेल्जियम बलियो टीम हुँदाहुँदै पनि विश्वकप सहभागिता यतिञ्जेल सहभागितामै सीमित रहने गरेको छ ।

पेपरमा हेर्ने हो भने बेल्जियम विश्व फूटबलका प्रभावशाली टीम मध्येको एक हो । तर नतिजा त्यो अनुसार आउन सकिरहेको छैन । विश्वकपमा बेल्जियमको सबैभन्दा ठूलो सफलता सन् १९८६ मा सेमीफाइनल पुग्नु हो ।

सन् २०१४ मा उसले क्वार्टरफाइलनसम्मको यात्रा तय गर्‍यो । यसबाहेक प्राय: सबै सहभागितामा बेल्जियम ग्रुप स्टेज र राउण्ड अफ १६ मै सीमित बन्ने गरेको छ ।

त्यसैले पनि बेल्जियमलाई विश्व फूटबलकै अभागी टीम मानिन्छ ।

यस्तो छ टीम

बेल्जियमको टीममा इंग्लिस प्रिमियर लिगमा प्रभाव जमाउन सफल स्टार खेलाडीहरूको जमघट छ ।

म्यान्चेस्टर सिटीलाई करीब एक दर्जन कीर्तिमानसहित प्रिमियर लिग जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका केभिन डिब्रुएन, सीटीकै कप्तान भिन्सेन्ट कोम्पानी, चेल्सीका स्टार इडेन हजार्ड तथा सोही टीमका नियमित किपर थिबाउट कोर्टियस, म्यान्चेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु तथा टोटनह्याम हट्सपरका प्रभावशाली डिफेन्डरद्वय आल्डेरियारेल्ड, भर्तोङहेन बेल्जियमको टीममा छन् ।

फलाइनी, बत्सुयी, थ्रोगन हजार्ड, चाड्ली, डेम्बेले, भर्मालिन, मिग्नोलेटजस्ता खेलाडी पनि आफैंमा प्रभावशाली छन् ।

यस्तो हुनसक्छ फर्मेसन

बेल्जियमको तर्फबाट अग्रपंक्तिको नेतृत्व लुकाकुले गर्नेछन् । उनको विकल्पमा बत्सुयी छन् ।

डिब्रुएन, हजार्ड, कारस्सो, मेर्टेन्स, म्युनिर, विस्टेललगायतका मिडफिल्डरले गोलको अवसर सृजना गर्न भूमिका खेल्नेछन् ।

रक्षापंक्तिमा प्रभावशाली डिफेन्डरहरू रहेकाले ३ जना मात्र रहने सम्भावना छ ।

बुधबार इजिप्टिलाई ३-० ले हराउने क्रममा पनि बेल्जियमको रक्षापंक्तिमा ३ जना खेलाडी नै थिए । टीमका लागि हजार्ड, लुकाकु र फलाइनीले गोल गरे ।

गोलपोस्ट भने कोर्टियोसले सम्हाल्ने पक्का छ । विकल्पमा मिग्नोलेट पनि छन् ।

salt training

कमेन्ट गर्नुहोस्