
काठमाडौं, २५ जेठ - मेस्सीको सिफारिसमा बार्सिलोनाले अर्जेन्टिनाका एक युवा खेलाडीलाई अनुबन्धन गर्ने तयारी थालेको छ ।
बोका जुनियरबाट घरेलु लिग खेलिरहेका २२ वर्षीय क्रिस्टियन पाभोनलाई अनुबन्धन गर्न बार्सिलोनाले उनको टीमसँग सम्पर्क गरेको दाबी अर्जेन्टिनाबाट प्रकाशित एक रिपोर्टमा गरिएको छ ।
बार्सिलोनामै रहेर आफूसँगै विश्वकपको तयारी गरिरहेका पाभोनसँग मेस्सी निकै प्रभावित भएका छन् । रुस विश्वकपको तयारीका लागि अर्जेन्टाइन टोली हाल बार्सिलोनामा छ ।
'मैले पाभोनका रूपमा एउटा नयाँ साथी भेटेँ,' मेस्सीले भनेका छन्- 'ऊ अरुभन्दा अलग र निकै फास्ट छ ।'
मेस्सीले अघि भनेका छन्- 'ऊ छिटो मात्र होइन, उसको निर्णय लिने क्षमता पनि निकै तिक्ष्ण छ ।'
पाभोन लेफ्ट विंगर हुन् । नेयमारले छाडेपछि भित्र्याएका उस्मान डेम्बेलेले पनि अपेक्षाकृत प्रदर्शन नगरेपछि विकल्पको रूपमा पाभोनलाई भित्र्याउने तयारी बार्साले गरेको रिपोर्टमा दाबी गरिएको छ ।
बोका जुनियरबाट ७ नम्बर जर्सी लगाएर खेल्ने पाभोन घरेलु दर्शकका फेभरेट खेलाडीसमेत हुन् ।