
काठमाडौं, २८ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा शिखर वार्ता हुँदै छ । दुई देशका बाहलवाला प्रमुखबीच हुन लागेको यो पहिलो वार्ता हो ।
कुनैबेला प्रमुख शत्रुका रुपमा रहेका यी दुई देशका प्रमुखबीच हुन लागेको वार्ताका कारण अहिले विश्वको ध्यान पनि सिंगापुरतर्फ केन्द्रीत छ । अमेरिका र उत्तर कोरियाका नेताहरु वार्ताका लागि सिंगापुर पुगिसकेका छन् ।
सिंगापुरमा शिखर वार्ताका लागि सुविधासम्पन्न होटल चुनिएको छ । उनीहरु पाँचतारे होटलमा बसेका छन् ।
शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न आफू तयार रहेको बताएको छ ।
सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङ्गले ट्रम्प–किम वार्तामा करिब २० मिलियन सिंगापुर डलर खर्च हुने जानकारी दिदैं सो खर्च आफ्नो मुलुकले व्यहोर्ने बताएका छन् ।
उक्त रकमको करिब ५० प्रतिशत हिस्सा सुरक्षा क्षेत्रमा खर्च हुने जनाइएको छ । अन्तर्राष्ट्रिय पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिंगापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ ।