
काठमाडौं, २८ जेठ – अमेरिकाको ह्वाइट हाउसका राष्ट्रिय व्यापार परिषद्का निर्देशक पिटर नभारोले आफ्ना हाकिम राष्ट्रपति डोनल्ड ट्रम्पलाई धोका दिनेलाई ‘नर्कमा विशेष स्थान’ रहेको बताएका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुदोलाई इंगित गर्दै उनले आइतवार फक्स न्युजसँगको अन्तर्वार्तामा यस्तो विवादास्पद बयान दिएका हुन् ।
नभारो नै क्यानाडा, मेक्सिको र युरोपेली संघमाथि स्टील र एल्युमिनियममा कर लगाउने योजनाका प्रमुख पात्र हुन् ।
‘राष्ट्रपति डोनल्ड ट्रम्पसँग खराब उद्देश्यका साथ कूटनीति गर्ने अनि बाहिर निस्कँदा पिठ्युँमा छुरा धस्ने कुनै पनि विदेशी नेतालाई नर्कमा विशेष स्थान छ,’ नभारोले ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुद्लोको शब्द सापटी लिँदै भने ।
यसअघि आइतवार कुद्लोले त्रुदोलाई ‘अमेरिकाको पिठ्युँमा छुरा धसेको’ आरोप लगाएपछि उनको सामाजिक सञ्जालमा खुबै आलोचना भएको थियो । त्रुदोले जी–७ सम्मेलनको अन्तिम प्रेस भेटघाट कार्यक्रममा अमेरिकी करविरुद्ध प्रतिकार गर्ने बताए ।
यसअघि ट्रम्पले ट्विटरमा त्रुदोलाई बेइमान र कमजोर भन्दै कडा आलोचना गरेका थिए ।
ट्रम्पको यस्तो शाब्दिक आक्रमणलाई जी७ का अन्य सदस्यले कडा आलोचना गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टस्कले क्यानाडाका प्रधानमन्त्री त्रुदोका लागि स्वर्गमा विशेष स्थान हुनुपर्ने भनी ट्वीट गरे । त्रुदोले गरेको राम्रो आतिथ्यका लागि टस्कले प्रशंसा गरेका हुन् ।
एजेन्सी