
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बहुप्रतिक्षित भेटवार्ता भएको छ । भेटलाई विश्वभर निकै चासोका साथ हेरिएको छ । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा क्रममा ट्रम्प र किमले हात मिलाएको दृश्यहरु टेलिभिजन च्यानलहरुले देखाएका छन् । दुई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो ।
ट्रम्प र किमको भेट र दुई देशबीचको उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ।
ट्रम्पले भनेका छन् ‘ शिखर सम्मेलन निकै सफल हुने आशा गरेको छु । हामीबीच एक असल सम्बन्ध स्थापित हुनेछ ।’
यस्तै किमले भनेका छन्, ‘विभिन्न अन्योलताका बीच हामी बैठकका लागि सिंगापुर आइपुगेका छौं । हामी ती सबै चुनौतिका बीच पनि यहाँ छौं ।’
आणविक कार्यक्रमले आलोचित उत्तर कोरियाका सर्वोच्च नेता किम र ट्रम्पबीच आणविक कार्यक्रमको अन्त्यका विषयमा केन्द्रीत रहेर वार्ता हुने ठानिएको छ ।
तस्बिरः एजेन्सीहरु












