
काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।
भेटपछि ट्रम्पले वार्ता ‘ अत्याधिक सफल र उत्कृष्ट सम्बन्ध’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
यस्तै भेटघाटपश्चात् किमले पनि ट्रम्पसँग भट्दा खुसी लागेको बताएका छन् । उनले प्रतिक्रियाका क्रममा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ भनेका बीबीसीले उल्लेख गरेको छ ।
सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच आज बिहान ५० मिनेटसम्म भेटवार्ता चलेको थियो ।
ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ ।
यसअघि भेटमा क्रममा ट्रम्प र किमले आपसमा हात मिलाएका थिए । दुई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो ।
ट्रम्प र किमको भेट र दुई देशबीचको उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ।