
काठमाडौं, ३० जेठ – महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका वृत्त प्रभागबाट बरामद अवैध मदिरा आज नष्ट गरिएको छ ।
प्रहरीले विभिन्न ठाउँबाट ४२ हजार ८ सय ५ लिटर मदिरा बरामद गरेको थियो ।
बरामद गरिएको मदिरा र कच्चा पदार्थलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हाताभित्र खाल्डो पारेर नष्ट गरिएको परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बताए । उनका अनुसार मदिरा ४२ हजार ८ सय ५ लिटर र कच्चा पदार्थ ९ हजार किलो नष्ट गरिएको छ । ‘बरामद मदिराको बजार मूल्य करीब ३९ लाख रुपैयाँ अनुमान गरिएको छ,’ उनले भने ।

काठमाडाैंमा उत्पादन हुने मदिरामा कुहिएको खाद्यान्न, युरिया मल, चाकु, सख्खर लगायतका खाद्य तथा अखाद्य वस्तु प्रयोग हुने गरेको डीएसपी थापाले बताए । काठमाडौ जिल्लाका बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भु, कोटेश्वर, बालाजु, टोखा लगायतका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ ।

घरेलु मदिरा सेवन गर्ने व्यक्तिहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, कुटपिट, गुण्डागर्दी लगायतका आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्नका लागि लागू गरेको विशेष अभियान अन्तर्गत जेठ २३ गतेदेखि मदिरा बरामद शुरू गरेको थियो ।

याे पनि पढ्नुहाेस्