
काठमाडाैं,१ फागुन-प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् ।
संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ ।
‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने अवस्थामा सशंकित हुनु अस्वाभाविक होइन ।’