३० जेठ २०८३, शनिबार

संसदमा शुरु भयो शून्य समय, मूल्यवृद्धि नियन्त्रणका लागि बजारमा हस्तक्षेप गर्न माग

संसदमा शुरु भयो शून्य समय, मूल्यवृद्धि नियन्त्रणका लागि बजारमा हस्तक्षेप गर्न माग

काठमाडौं, ३१ जेठ –प्रतिनिधिसभामा शून्य समयमा सांसदहरूले बोल्नेक्रम बिहीवारबाट शुरु भएको छ । प्रतिनिधिसभा नियमावली पारित भएपछि संसदमा बिहीवार पहिलोपटक शून्य समय शुरु गरिएको हो । 

विशेष समयमा बोल्न नपाउने सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका समस्या राख्नका लागि बोल्न एक मिनेट समय दिइन्छ । ‘एक मिनेट’को शून्य समयमा सांसदहरूले जनचासोका विषय उठाएका छन् । 

बिहीवार शून्य समयमा ७ जना सांसदले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद अत्तहर कमाल मुसलमानले मुस्लिम समुदायको पर्व इदको अवसरमा सार्वजनक बिदा दिन माग गरे ।
उनले कपिलवस्तुको तौलिहवादेखि बहादुरगञ्जसम्मको बाटो स्तरोन्नतिको माग गरे । 

नेकपामा अमनलाल मोदीले बजारमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै सरकारसँग सशक्त रूपमा बजार हस्तक्षेप गर्न माग गरे । 

कांग्रेसका अमेरशकुमार सिंहले सरकार आम नागरिकको समस्याप्रति गम्भीर नभएको आरोप लगाए । उनले ऊखु किसानका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए । 

नेकपाकी इन्दुकुमारी शर्माले महोत्तरीमा भएको घटनाबारे संसदमा जानकारी गराउँदै बलात्कारीलाई फाँसीको सजाय दिन माग गरिन् । 

नेपाली कांग्रेसकी उमा रेग्मीले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था कार्यान्वयनको माग गरिन् । नेकपाका खगराज अधिकारीले बजारमा बजारमा कृतिम अभाव र कायम गरिएको भन्दै अनुगमन गर्न माग गरे । 

सिन्डिकेट अन्त्यको घोषणा गरिए पनि यातायातमा सिन्डिकेट कायमै रहेको उनले दाबी गरे । 

नेकपामा गणेशसिंह ठगुन्नाले २०७० सालमा महाकाली नदीले बगाएको जिल्ला अस्पताल दार्चुलाको भवन यथाशीघ्र निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । 

शून्य समयमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । 

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्