
काठमाडौं, ३१ जेठ – दक्षिण कोरियामा भएको एक घटनाले मेडिकल जगतलाई आश्चर्यमा पारेको छ । जर्नल अफ प्यारासाइटोलोजीमा छापिएको खबरअनुसार, ६३ वर्षीया एक महिला मुखबाटै गर्भवती भइन् ।
खासमा ती महिलाको मुखमा स्क्विड नामक समुद्री प्राणीका १२ बच्चाहरू हुर्किरहेका थिए । मेडिकल साइन्समा यस्तो घटना पहिलो भएको चिकित्सकहरू बताउँछन् । घटना सन् २०१२ को हो ।
महिलाले एक रेस्टुराँमा कालामारी नामक समुद्री भोजन मगाएकी थिइन् । यो स्क्विडबाट बन्छ । महिलाका अनुसार, स्क्विड मुखमा राख्नेबित्तिकै उनलाई खानै मन लागेन ।
खासमा त्यो स्क्विड आधा मात्र पाकेको थियो । महिलाले त्यसका टुक्राहरू मुखमा राख्दा उनलाई भित्रबाट लगातार कीराहरूले टोकेको अनुभव भयो । केही दिनसम्म ती महिलाको मुखमा धेरै पीडा भयो ।
जाँचमा पो पत्ता लाग्यो त, महिलाको जिभ्रो र गिजामा १२ वटा साना स्क्विडहरू हुर्किरहेका थिए । महिलाबाट सबै कुरा बुझेपछि चिकित्सकहरूले यो पहिलो घटना भएको बताए ।
महिलाले आधा पाकेको स्क्विड खाएपछि त्यो स्क्विडले महिलाको मुखको कोषिकामा वीर्यपात गरिदियो । त्यसैले महिलालाई टोकेको जस्तो अनुभव भयो ।
महिलाको मुखमा हुर्किरहेका स्क्विडहरू जापानी प्रजातिका भएको चिकित्सकले बताए । तिनीहरूलाई मुखबाट अपरेसन गरेर हटाइएको छ ।
एजेन्सी