
काठमाडौं, १ असार - संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार बनेपछि आज पहिलो पटक प्रदेश सरकारले नै बनाएको पूर्णबजेट आउँदैछ ।
आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ७ वटै प्रदेशले आज प्रदेशसभामा बजेट सार्वजनिक गर्दैछन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयले संघीय सरकारबाट प्राप्त अनुदान र आन्तरिक आयको अनुमान समेटेर बजेट निर्माण गरेका छन् । प्रदेश सरकारको बजेट प्रस्तुत हुने भएपनि बजेट खर्च गर्ने संरचनाबारे प्रदेश सरकार अन्यौलमा रहेको छ ।
प्रदेशभित्र रहेका पूराना जिल्ला र डिभिजन कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले प्रदेशको बजेट ती कार्यालयबाट कार्यान्वयन नहुने ७ नम्बर प्रदेशको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘कानूनी स्पष्टता नभएका कारण प्रदेशका संरचना बनेका छैनन्, आगामी आर्थिक वर्षको बजेट नगरपालिका र गाउँपालिकासँग समन्वय गरेर खर्च हुने अवस्था छ,’ उनले भने ।
कुन प्रदेशको बजेट कति ?
१ नम्बर प्रदेशले करीब ३५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नाराको लक्ष्य प्राप्त गर्ने मार्गचित्रसहित बजेटका सिद्धान्त र प्राथमिकता तय भएको बताइएको छ । २ नम्बर प्रदेश सरकारले करीब ३० अर्ब रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । ३ नम्बर प्रदेश सरकारले करीब ४० अर्ब रुपैयाँको बजेट प्रदेश सभामा पेस गर्दैछ ।
४ नम्बर प्रदेश सरकारले करीब २६ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । ५ नम्बर प्रदेश सरकारले करीब ३० अर्बको ल्याउने तयारी गरेको छ । कर्णाली सरकारले २५ अर्ब रुपैयाँकोे बजेट ल्याउँदै छ । ७ नम्बर प्रदेश सरकारले २४ अर्ब बराबरको बजेट ल्याउने भएको छ ।