
काठमाडौं, १ असार – ‘परिवारका सबै सदस्य शोकमा छन्, कसले कुरा गर्ला र ?’ बीबीसी हिन्दी कश्मीरको किरीमा पुग्दा शुजात बुखारीका भाइ सईद बशारतले भने ।
उत्तरी कश्मीरको किरी गाउँमा शुजात बुखारीको घरमा प्रत्येक व्यक्तिको आँखा चिसो छ । हरेक अनुहार उदास देखिन्छ । आफन्त साथीभाइ सबै शोकमा छन् र उनको मृत्युको कारण खोजिरहेका छन् ।
राइजिङ कश्मीर नामक अंग्रेजी दैनिक पत्रिकाका सम्पादक वरिष्ठ पत्रकार शुजात बुखारीलाई बिहीवार साँझ उनको कार्यालयबाहिर श्रीनगरका प्रेस कोलोनीमा केही आक्रमणकारीले गोली हानेर मारेका छन् । यो घटनामा उनका दुई सुरक्षाकर्मी पनि मारिएका छन् ।
किरीमा उनको घरको आँगनमा मानिसको भीड देखिन्थ्यो । घरमा कैयौं महिलाहरू चर्को स्वरमा रोइरहेका थिए । एक वृद्धा चिच्याउँदै भनिरहेकी थिइन्, ‘मेरा अफिसर, तिमी कहाँ गयौ ?’

आँगनमा शुजात बुखारीको मृत शरीर कपडामा बेरेर खाटमा राखिएको थियो । उनको अन्तिम दर्शनका लागि अनेकौं नातेदार र इष्टमित्र आएका थिए ।
बुखारीका मातापिता, एक पत्नी र दुई छोरा छन् ।
सईद बशारतले यो घटनालाई निन्दनीय बताउँदै भने, ‘पूरा परिवार गहिरो शोकमा छ । कसले यो हत्या ग–यो हामीलाई थाहा छैन । एक अनुभवी पत्रकार र बुद्धिजीवीको हत्या घृणास्पद छ । शुजात साहेब जहिले पनि पीडितहरूको पक्षमा हुनुहुन्थ्यो । अझ रमजानको पवित्र महिनाको विचारै नगरी उहाँको हत्या गरिएको छ ।’
शुजात वर्षौंदेखि श्रीनगरमा बसिरहेका थिए । उनका नातेदारहरू पनि श्रीनगरमा बस्छन् । ईद वा कुनै ठूलो पर्व आउँदा सबैजना आफ्नो गाउँमा भेला हुन्छन् ।
बशारत भन्छन्, ‘श्रीनगरमा बस्ने हाम्रा नातेदारहरू ईदमा गाउँ आइरहन्छन् अनि हामीले शुजात साहेबलाई पनि ईदमा कुरिरहेका थियौं,’ लामो सुस्केरा छोड्दै उनले भने, ‘खुशीको प्रतीक्षा गरिरहेका हामीहरूमाथि दुःखको वज्रपात भयो ।’
शुक्रवार सबा ११ बजे शुजातको अन्तिम संस्कार गरिएको छ ।
शुजातकै गाउँमा बस्ने एक युवक आदिल भन्छन्, ‘यहाँ निर्दोषहरूको बेकारमा ज्यान जान्छ । आजसम्म बुखारी साहेबले कसैसँग चर्को स्वरमा पनि कुरा गर्नुभएको थिएन । हामीहरू उहाँलाई भेट्न जाँदा जहिले पनि हामीलाई छोरालाई जस्तो माया गर्नुहुन्थ्यो ।’
उनका एक नजिकका साथी तारिक अली मीरले शुजात बुखारीको हत्याले अनेकौं प्रश्न उठाएको टिप्पणी गरेका छन् । उनले भने, ‘कश्मीरको पत्रकारिताको एक अध्याय समाप्त भएको छ । पत्रकार सुरक्षित भएको कुनै ठाउँ बाँकी रहेन । पत्रकारिता जगतका लागि यो ठूलो घटना हो ।’
बुखारी कश्मीर मुद्दालाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने पक्षमा थिए र भारत तथा पाकिस्तानका पूर्वकूटनीतिज्ञहरूलाई सँगै राखेर उनले अनेकौं सम्मेलन गराएका थिए ।
पाकिस्तानसँग ट्य्राक–२ कूटनीतिको उनी एक प्रमुख हिस्सा थिए ।
कश्मीर मुद्दाको शान्तिपूर्ण समाधानको आवाज उठाउने उदारवादीहरूलाई पनि आतंकवादीहरूले निशाना बनाउने गरेका छन् । शुजात बुखारीलाई पनि यही कारणले हत्या गरिएको हुनसक्ने बताइएको छ ।
केही वर्षअघि पनि शुजात बुखारीलाई अपहरण गरिएको थियो तर उनी सकुशल उद्धार भएका थिए ।
आफ्नै पत्रिका राइजिङ कश्मीर शुरू गर्नुअघि शुजात बुखारी द हिन्दू पत्रिकाका कश्मीर ब्युरो चीफ थिए ।
अहिलेसम्म कुनै पनि संगठन वा गुटले आक्रमणको जिम्मेवारी लिएको छैन । जम्मु–कश्मीर प्रहरीले संदिग्ध आक्रमणकारीहरूको तस्वीर जारी गरेको छ ।
बीबीसी हिन्दीमा प्रकाशित माजिद जहांगिरको रिपोर्ट