०४ साउन २०८३, सोमबार

मेयर डोजर ड्राइभर बनेपछि उत्पात : पत्रकारसहित ५ जना स्थानीय घाइते

मेयर डोजर ड्राइभर बनेपछि उत्पात : पत्रकारसहित ५ जना स्थानीय घाइते

पोखरा, १ असार – उद्घाटनमा पुग्ने जनप्रतिनिधि र मन्त्रीका लागि उद्घाटन गर्ने अनेक तरिका निकालिन्छन् । कसैले रिबन काट्छन्, कसैले इँटा उचाल्छन् । तर, पोखराको लेखनाथ महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसीले उद्घाटनका क्रममा डोजरको ड्राइभर बन्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । 

पोखराको फिर्के खोलामा पैदल मार्ग उद्घाटनका क्रममा डोजरले रेलिङसहित पर्खाल भत्काउँदा ५ जना घाइते भएका हुन् । उद्घाटनको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई डोजरले रेलिङसहित मान्छे सोरेर खोलाको किनारमा पुर्याएको छ । दुर्घटनामा पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पत्रकार रञ्जन अधिकारी, रेडियो अन्नपूर्णका संवाददाता सन्देश श्रेष्ठ, प्रगति आमा समूहकी गौरी पौडेललगायत ५ जना घाइते भएका हुन् ।

घाइते गौरी पौडेलको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् । अन्य ३ जना सामान्य घाइते भएका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जिसीले प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै विकास गर्ने उद्देश्यले फिर्के खोला र बुलौदी खोलाको दुवै किनारमा ५/५ मिटर दायाँबायाँ पैदल मार्ग बनाउने कार्य शुरू भएको घोषणा गरेका थिए ।
 

कमेन्ट गर्नुहोस्