०६ साउन २०८३, बुधबार

फिल्म समीक्षा : सलमानका फ्यानलाई मात्र मन पर्नेछ 'रेस ३'

फिल्म समीक्षा : सलमानका फ्यानलाई मात्र मन पर्नेछ 'रेस ३'

काठमाडौं, १ असार – ‘यो रेस जिन्दगीको रेस हो, कसैको ज्यान लिएर मात्र सकिन्छ ।’ रेस ३ को यो संवादमा एउटा कुरा जोड्न मन लाग्छ : दर्शकको ज्यान लिएर मात्र फिल्म सकिन्छ । 

यति धेरै शीर्ष कलाकारहरू भएको फिल्ममा केही रमाइलो हेर्न पाइएला भनेर तपाईंले आशा गर्नुभएको छ भने निराशा मात्र हात लाग्नेछ । 

रेस फिल्मको अघिल्लो दुई हिट फिल्मपछि स्टारकास्टमा धेरै परिवर्तन आएको छ । अघिल्ला दुई फिल्मबाट अनिल कपूर यसपालि छन् भने ज्याकलिन फर्नान्डिज रेस २ पछि यसमा देखिएकी छन् । निर्देशक चाहिँ अब्बास–मस्तानको
साटो रेमो फर्नान्डेज छन् । यो फिल्मले अघिल्ला दुई फिल्मको कथासँग साइनो राख्दैन । 

फिल्मको कथा शमशेर सिंह (अनिल कपूर) बाट शुरू हुन्छ । उनी २५ वर्षअघि भारतमा एउटा षड्यन्त्रको शिकार भएर थाइल्यान्ड आएका छन् । उनी अवैध हतियारको व्यापार गर्छन् । उनका दाइ रणछोड सिंहका छोरा सिकन्दर (सलमान खान) उनको दाहिने हात हो । 

दाइको मृत्यु एक दुर्घटनामा भएपछि शमशेरले आफ्नी भाउजुसँग बिहे गरेका थिए । उनीहरूका दुई जुम्ल्याहा सुरज (साकिब सलीम) र सञ्जना (डेजी शाह) छन् । फिल्मका अर्का पात्र यश (बबी देओल) सिकन्दरको बडीगार्ड हो । उता जेसिका (ज्याकलिन फर्नान्डेज) पहिला सिकन्दरकी गर्लफ्रेन्ड थिइन् तर उनी अहिले यशसँग छिन् । 

सिकन्दर आफ्नो परिवारका लागि ज्यान दिन तयार रहन्छन् तर उसका सौतेनी भाइबहिनी उसलाई घृणा गर्छन् । उनीहरूले यशलाई पनि भड्काएर आफ्नो पक्षमा पार्छन् । शमशेर चाहिँ भारत फर्किन चाहन्छ र भाग्यले एक मौका पाउँछ । उसको मिसन पूरा गर्नका लागि सिकन्दर समेत सबै टोली कम्बोडिया जान्छ जहाँ सुरज, सञ्जना र यशले उसलाई फसाइदिन्छन् । तर उसलाई जेसिकाले बचाउँछिन् । अनि त्यसपछि क्रमशः रहस्यहरू खुल्दै जान्छन् ।

सलमान खान फिल्ममा स्मार्ट देखिन्छन् र उनका एक्सन सीनहरू जबर्जस्त छन् । तर कथा र पटकथाको कुरा गर्दा फिल्म पूरै बकवास छ । फिल्मको पहिलो हाफ हेर्दै दर्शकले कहाँ पैसा डुबाउन आइएछ भन्ने अनुभव गर्छन् ।
दोस्रो हाफमा केही ट्विस्टहरू त छन् तर तिनमा कुनै रोमाञ्चकता छैन । दुई घन्टामा सकिने कथालाई निर्देशक रेमोले तन्काएर पौने ती घन्टा किन बनाएका होलान् भनी दर्शकले सोध्छन् । 

सलमानबाहेक अन्य कलाकारको कुरा गर्दा अनिल कपूर सदा झैं गजब देखिएका छन् । ज्याकलिन र डेजी शाहले राम्रो स्टन्ट दिएका छन् । साकिब सलीमले चाहिँ अभिनय गरेजस्तो मात्र देखिन्छ । बबी देओलले शर्ट निकालेर केही
एक्सन सीन गरेको भएपनि उनको भावहीन अनुहारले उनी अभिनयका लागि बनेकै हैनन् भन्ने प्रस्ट पार्छ । 

उता भिलेनको भूमिकामा फ्रेडी दारुवालाले यो फिल्म किन खेलेका होलान् ? परिवारमै यति धेरै भिलेन भएकाले उनको कुनै स्कोप नै छैन । 

फिल्मको सिनेमाटोग्राफी गजबको छ । बैंकक र अबु धाबीका भव्य लोकेसनमा फिल्म शूट गरिएको छ । कश्मीर र लद्दाखमा शूटिङ गरिएका रोमान्टिक सीन पनि राम्रा छन् । तर गीतहरू फिल्ममा नमिलाइकन जबर्जस्ती
कोचिएका छन् । 

यो फिल्म सलमानका फ्यानहरूका लागि मात्र हो । अरूले चाहिँ रिस्क लिएर मात्र यो फिल्म हेर्न जानु बेश होला ।

नवभारत टाइम्समा प्रकाशित समीक्षाबाट
 

salt training

कमेन्ट गर्नुहोस्