
काठमाडौं, २ असार– अर्जेन्टिनाका राष्ट्रिय फुटबल टीमका प्रशिक्षक जर्ज साम्पोलीले रुस विश्वकप स्टार खेलाडी लियोनल मेस्सीको अन्तिम नभएको बताएका छन् ।
पाँच पटकका फिफा बालोनडीओर पुस्कार हात पारेका मेस्सी ३० वर्षका भए ।
रुस विश्वकपको पहिलो खेल आइसल्याण्डसँग खेल्नु अघि साम्पोलीले भने,‘मलाई लाग्दैन कि मेस्सीको यो अन्तिम विश्वकप हो । तर आफ्नो करियरको समापन गर्ने अधिकार मेस्सीमा छ । मरो विचारमा मेस्सीको यो अन्तिम विश्वकप होइन ।’
२०१४ मा ब्राजिलमा आयोजित वर्ड कपको २० औं संस्करणको फाइनलमा जर्मनीसँग पराजित भएको मेस्सी नेतृत्वको अर्जेन्टिनाले आज २०१८ विश्वकपको पहिलो खेल आइसल्याण्डसँग खेल्दैछ ।
आइसल्याण्डको टीम पहिलोपटक विश्वकपमा भाग लिइरहेको छ । फुटबल जगतमा महान खेलाडि मेस्सीले आफ्नो करियरमा सबै प्रकारका उपाधि जितेका छन् । तर उनले देशका लागि कुनै पनि उपाधी जिताउन सकेका छैनन् ।