०४ असार २०८३, बिहीबार

ओलीको चीन भ्रमणबारे के भन्छन् चीनका लागि पूर्व राजदूतहरू ?

असार ४, २०७५
ओलीको चीन भ्रमणबारे के भन्छन् चीनका लागि पूर्व राजदूतहरू ?

काठमाडौं, ४ असार  –प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा दुई वर्ष अघि उहाँले गर्नुभएका ऐतिहासिक तथा रणनीतिक महत्वका सन्धि सम्झौताको दृढतापूर्वक कार्यान्वयन हुनुपर्ने चीनका लागि नेपालका पूर्व राजदूतहरूले बताउनुभएको छ ।  प्रमको चीन भ्रमणको पूर्व सन्ध्यामा  चीनका लागि पूर्व राजदूत डा महेशकुमार मास्के र टंक कार्कीले विगतमा सहमति भएका कुरा कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा बढी ध्यान दिन सके भ्रमण उपलब्धिमूलक हुने बताउनुभयो । 
पूर्व राजदूत मास्केले भन्नुभयो, “हालै छापामा आएका रेल मार्गको निर्माण तथा तिब्बती राजमार्गबाट आठवटा नाकामार्फत सीमा वारपारका कुरा तथा अन्तरदेशीय विद्युत् प्रशारण लाइन जस्ता विषय निकै सकारात्मक छन् ।” 
“आठवटा नाका खुला गर्ने कुरा निकै महत्वपूर्ण छ । अहिले तिब्बतको बजार ठूलो हुँदै छ । त्यहाँ ठूलो संख्यामा पर्यटक आउन थालेका छन् । त्यसले गर्दा नेपालका अग्र्यानिक उत्पादनले तिब्बतको बजार पाउन सक्छन् ।” उहाँले अगाडि भन्नुभयो, “हामीले ट्रान्जिट एग्रिमेन्ट मार्फत नाका प्रयोग गरेर यस्ता वस्तु निर्यात गर्न सक्छौं । 
डा। मास्केले भन्नुभयो, “अन्तर देशीय प्रशारण लाइनको निर्माण जस्ता कुरा पनि महत्वपूर्ण छन् अहिले तिब्बतबाट ठूला राजमार्गले मध्य एशिया र एशियाका धेरै देशलाई जोड्दै छन्, त्यसबाट हामीले फाइदा लिन सक्नुपर्छ ।” 
मास्केले अगाडि भन्नुभयो, “अहिले छापामा यातायातलगायत पारवहन प्रोटोकलमा हस्ताक्षर नहुने भन्ने कुरा आयो, त्यो नहुने हो भने राम्रो भएन र त्यसलाई जोडदार रुपमा उठाउनु होला भन्ने आश गरेको छु ।” 
“मेरो विचारमा यातायात तथा पारवहानको विषयमा प्रोटोकलमा मात्र हस्ताक्षर गरेर पुग्दैन । अहिले प्रोटकलमा हस्ताक्षर गर्ने र पछि यसलाई सन्धिको रुप दिनु पर्छ भन्ने हो ।” मास्के भन्नुहुन्छ । 
त्यस्तै, नेपाल चीन व्यापार घाटा कम गर्न नेपाली कृषिजन्य वस्तुलाई चीन तथा स्वशासित क्षेत्र तिब्बतसम्म पु¥याउन त्यस्ता उत्पादनहरू शून्य भन्सार लगाउने कुरा उठाइनुपर्ने उहाँको सुझाव छ । 

अहिलेको भ्रमणमा खाली विगतमा जस्तो सपिङ्गलिस्ट मात्र लिएर जाने र हरेक भ्रमणमा नयाँनयाँ कुरा गर्ने भन्ने तर व्यवहारमा केही नगर्ने भन्दा विगतमा भएका सन्धि सम्झौता र सहमतिको कार्यान्वय गर्ने र कार्यान्वयनको पक्ष के भयो भन्ने विषयमा बढी केन्द्रित हुनुपर्ने पूर्व राजदूत टंक कार्कीले बताउनुभयो । 
उहाँको सुझाव थियो, “भ्रमण पूर्व पर्याप्त गृहकार्य गर्नु आवश्यक छ तर अहिलेको सन्दर्भमा पर्याप्त गृहकार्य भए जस्तो लागेन ।”
विगतमा दुई वर्ष अघि के।पी ओली सरकारले चीनसँग गरेका सन्धि सम्झौताहरू निर्वाचन मार्फत जनअनुमोदित भएको बताउँदै पूर्व राजदूत कार्कीले त्यसको कार्यान्वयन दृढतापूर्वक हुनुपर्ने र कार्यान्वयमा खुट्टा कमाउनु नहुने बताउनुभयो । 
विगतमा पारवहन लगायतका सम्झौताका प्रोटोकलहरूमा धेरै छलफल हुनु आवश्यक थियो तर यो विषयमा पर्याप्त छलफल भए जस्तो देखिएको छैन । 
नेपालबाट विगतमा हुने भ्रमणहरूमा पनि भ्रमणका मुखमा आएर चहलपहल गर्ने तर अरु समय सुतेर बस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै पूर्व राजदूत कार्कीले भन्नुभयो, “यो प्रवृत्ति परिवर्तन गरिनु पर्छ र राज्यले गरेका प्रतिवद्धताहरू पूरा हुनुपर्छ ।”  गोरखापत्र दैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्