काठमाडौं, ४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि शुरु हुने आफ्नो चीन भ्रमणकामा सन् २०१६ मा भएको पहिलो भ्रमणका क्रममा गरेका सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभएको छ ।
भ्रमणका अवसरमा दुई पक्षबीच गरिने छलफल, मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यानामा राखेर गरिने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा आफ्नो भ्रमणबारे जानकारी गराउँदै ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणका अवसरमा भएका दूरगामी महत्त्वका सन्धी, सम्झौता र समझदारी कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
‘विगतमा भएका दूरगामी सन्धि, सम्झौताले गौरवपूर्ण इतिहासको मससुस मात्र होइन, भोलिको यात्रालाई पनि संकेत गर्छ,’ ओलीले भन्नुभयो, ‘यसपटक भ्रमणमा ती सम्झौताहरूको समबन्धमा थप छलफल गर्छौं, हाम्रा प्राथमिकता र दृष्टिकोण राख्छौं ।’