२५ जेठ २०८३, सोमबार

संघीयतामा स्वास्थ्यको संरचना : प्रदेशमा विभाग, ३५ जिल्लामा प्रदेश कार्यालय

असार ४, २०७५
संघीयतामा स्वास्थ्यको संरचना : प्रदेशमा विभाग, ३५ जिल्लामा प्रदेश कार्यालय

काठमाडौं,  ४ असार– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचनाअनुसार आफू मातहत हुने प्रदेश तथा स्थानीय तहका निकायको ढाँचा तयार पारेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा रहने संरचनाबारे ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ तयार पारेको हो । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको मातहतमा संचालन हुने गरी प्रदेश स्वास्थ्य विभाग, प्रदेश स्वास्थ्य कार्यालय र कर्मचारीहरुको संगठानात्मक संरचना तयार पारेको छ । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको संरचना आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार प्रदेश स्वास्थ्य विभाग भित्र स्वास्थ्यसँग सम्बन्धित ९ वटा शाखाहरु रहनेछन् ।  

जसमा नीति, योजना तथा  कार्यक्रम समन्वय शाखा, अनुगमन मुल्याङ्कन तथा नियमन शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, प्रशासन शाखा, स्वास्थ्य प्रवद्र्धन तथा तालिम शाखा र नर्सिङ सेवा व्यवस्थापन शाखा रहने प्रस्ताव गरिएको छ ।

मन्त्रालयले तयार पारेको प्रस्तावित संरचना स्वीकृत भएमा साविकका ५ क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरु, स्वास्थ्य तालिम केन्द्रहरु, मेडीकल स्टोहरु र उपक्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको संरचना खारेज हुनेछन् । ती संरचनालाई प्रदेशमा रहने प्रदेश स्वास्थ्य विभाग मातहत समायोजन गरिने छ । 

स्वास्थ्य मन्त्रालयले प्रास्तव गरेको प्रतिवेदनमा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था समेत गरिएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्तावित संरचनाअनुसार प्रदेश नम्बर १, ५ र ६ (कर्णाली)मा ६–६ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने छन् । यस्तै प्रदेश नम्बर ३ र ४ मा ५–५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहनेछन् भने प्रदेश नम्बर ७ मा ४ वटा प्रदेश स्वास्थ्य कार्यलय रहने प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य कार्यलय रहने जिल्लाहरुको नाम र ती कार्यलयको कार्यक्षेत्रका जिल्लाहरुको नाम पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषद् बैठकले पारित गरेमा कार्यान्वयनमा आउने छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत हुने कामहरु अब बन्ने प्रदेश स्वास्थ्य कार्यालयले सञ्चालन गर्नेछन् । 

मन्त्रालयले प्रदेशका स्वास्थ्य विभाग र प्रदेश स्वास्थ्य कार्यालयहरुका लागि कर्मचारीहरु सांगठनिक संरचना समेत तयार पारेको छ । जसमा प्रदेश स्वास्थ्य विभागमा स्वास्थ्य सेवा ऐनअन्तर्गत भर्ना भएका अधिकृत दशौं र नवौं तहका कर्मचारीहरु प्रशासनिक प्रमुख रहनेछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्