
काठमाडौं, ५ असार–प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली १ सय १९ जना सहभागी टोलीको नेतृत्व गर्दै चीन जान लाग्नु भएको हो । भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछ्याङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
भ्रमणका क्रममा रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको छ ।
भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने बताइएको छ । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।
वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उनका भतिजा वसन्त देवकोटाले जानकारी दिए ।
विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मिएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरू मेघा, वसुधा र मञ्जरीले काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।
खर्च नभएको रकम फिर्ता गर्न निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खर्च हुन नसकेको रकम फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षको अनुदानमा वितरण गरिएको रकम खर्च हुन नसकेको भए त्यसलाई फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको मन्त्रालयका आर्थिक प्रशासन शाखाका उपसचिव अर्जुनप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार अनुदान शीर्षकमा केन्द्रले पठाएको कक्षा १ देखि १० सम्मका शिक्षकको तलब, स्वास्थ्य केन्द्र तथा पशु केन्द्रका कर्मचारीको तलब, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, गरीबसँग विश्वेश्वर कार्यक्रम र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका खर्च हुन नसकेका रकम फिर्ता गर्न निर्देशन दिएको हो ।
भुक्तानी नदिने चिनी मिल र क्रसर उद्योगलाई कारवाही
सरकारले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने भएको छ ।
गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायत जिल्लामा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकामा प्रजिअले उद्योगीलाई बोलाई छलफल गरी तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
उद्योगीले तत्काल कृषकको रकम दिन नमानेमा कानूनबमोजिम कारवाही गर्ने सम्बन्धमा रायसहित सात दिनभित्र गृह मन्त्रालयमा सिफारिश गर्न प्रजिअलाई बैठकले निर्देशन दिएको छ ।
उच्चस्तरीय शिक्षा आयोग पुनःगठन
सरकारले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक, संघीय संसद्का महासचिव, राष्ट्रियसभाका सचिव र प्रतिनिधिसभाका सचिवको सेवा शर्त तथा पारिश्रमिकसम्बन्धी विधेयक तथा राष्ट्रियसभा निर्वाचन गर्न बनेको विधेयकलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ ।
बैठकले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पुरातत्व विभागको दरबन्दी कटौती गरेको छ ।
गोला प्रथाद्वारा पदावधि निर्धारण
राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार टुङ्गो लगाएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्ष, चार वर्ष र दुई वर्ष कार्यकाल हुने सदस्यहरुको टुंगो लगाइएको हो ।
सर्वाेच्चमा रिट दायर
जिल्ला न्यायाधीश नियुक्ति रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता उज्जलराम श्रेष्ठले जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्याय परिषद्ले समावेशी र दलित कोटामा पुन परीक्षाबाट पूर्ति गर्नुपर्ने दाबी गरिएको छ ।
संविधानमा समावेशी सिद्धान्तका आधारमा अदालतमा न्यायाधीश नियुक्त गर्नुपर्ने व्यवस्था भएको र यसअघि जिल्ला न्यायाधीशको परीक्षामा समावेशी तहमा कुनै पनि व्यक्ति उत्तीर्ण नभएकाले पुन परीक्षा गर्न निवेदनमा माग गरिएको छ ।
वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स
वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो ।
वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । वैदेशिक रोजगारीका लागि पुर्याउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी, वित्तीय क्षेत्रलगायत अन्य महत्वपूर्ण जानकारीलाई समाचार, लेख, अन्तर्वार्ता, प्रश्नोत्तर, अडियो र भिडियोको माध्यमबाट उपलब्ध गराइएको छ ।
नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य
नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले जानकारी दिए ।
वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ ।