२६ असार २०८३, शुक्रबार

गाजामा १३ हजार घाइतेको सहायताका लागि संघर्ष गरिरहेछन् स्वास्थ्यकर्मी

गाजामा १३ हजार घाइतेको सहायताका लागि संघर्ष गरिरहेछन् स्वास्थ्यकर्मी

काठमाडौं, ५ असार – अन्तर्राष्ट्रिय रेडक्रस समितिले आफ्ना स्वास्थ्यकर्मीहरू गाजामा लगभग १३ हजार घाइतेहरूको सहायताका लागि संघर्षरत रहेको बताएको छ । 

रेडक्रसका पश्चिम एसिया प्रमुख रोबर्ट मार्डिनीले गाजामा हालत अभूतपूर्व रूपमा गम्भीर रहेको बताए । घाइतेहरूमध्ये धेरैलाई गम्भीर चोट लागेको र धेरैजसोलाई कैयौंचाटि गोली लागेको उनले जानकारी दिए । 

रेडक्रस समितिको यो बयानअघि सोमवार गाजापट्टी र इजरायलको सीमामा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको थियो । 

प्यालेस्टाइनी सूत्रहरूका अनुसार, उनलाई गोली हानिएको थियो । इजरायलले चाहिँ सुरक्षा घेरालाई नष्ट गर्ने कोशिश गर्दा भएको विस्फोटमा ती प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ । 

यसअघि इजरायली सुरक्षाबलले गाजामा नौ ठाउँमा निशाना लगाएको थियो । इजरायलका अनुसार, प्यालेस्टाइनी नागरिक इजरायल क्षेत्रमा आगो लगाउनका लागि प्रज्वलनशील चंगा र बेलून उडाइरहेको र त्यसको जवाफमा आफूले
गोली चलाएको हो । 

गाजा र प्यालेस्टाइनको सीमामा अघिल्लो महिनादेखि तनाव र संघर्ष बढेको छ । हजारौंको संख्यामा प्यालेस्टाइनी इजरायलसँगको सीमामा विरोध प्रदर्शन गरिरहेका छन् । लगातार भइरहेको प्रदर्शनमा इजरायली सुरक्षाबलले लगातार गोली चलाइरहेका छन् । 

इजरायलले प्यालेस्टाइनी संगठन हमासले आफ्नो इलाकामा आक्रमण गराएको र यी विरोध प्रदर्शनहरू आयोजित गरेको आरोप लगाउने गरेको छ । 

दुई हप्ताअघि घाइतेहरूको सहायता गरिरहेकी २१ वर्षीया प्यालेस्टाइनी नर्स रजान अल–नजर इजरायली सुरक्षाबलको गोली लागेर मरेकी थिइन् र यसमा ठूलै विवाद भएको थियो । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्