
काठमाडाैं, १ फागुन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा आफूलाई जोडर आएका समाचारप्रति आपत्ति जनाएका छन् ।
आज नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय मन्त्रिपरिषदको भएकाले आफ्नो संलग्नता नभएको देउवाले स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकारको क्षेत्र हो । त्यसमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’
कानून अनुसार मन्त्रिपरिषदमा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्ष बनाउने विषयमा केही सञ्चार माध्यमले नियोजित रुपमा देउवाको नाम जोडेर प्रकाशित गरेको समाचार झुटो, भ्रामक र कपोकल्पीत भएको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेस गठबन्धनको प्रचण्ड सरकारले आजै तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले उनको नियुक्ति कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।