
राजविराज, ६ असार— पछिल्लो समय सप्तरी जिल्ला कारागार असुरक्षित बन्दै गएको छ । लामो समयदेखि जेलरको पदपूर्ति हुन नसक्नु, निमित्तमा रहेका जेलरले समय नदिनु तथा करारका कार्यालय सहयोगीका हातमा प्रशासनको कार्यभार रहनुले कारागार असुरक्षित बन्दै गएको हो ।
लामो समयदेखि कारागारमा दरबन्दीअनुसारको शाखा अधिकृत जेलरका रूपमा आएका छैनन् । केही महिनायता कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्ने सीअहेब सत्यनारायण यादव नै निमित्त जेलर छन् । उनी कारागार सुरक्षाको विषयमा जानकार पनि छैनन् ।
त्यसैले त पछिल्लो समय कारागारभित्रै मदिरा र गाँजा सहजै पुग्न थालेको छ । यसले यहाँको सुरक्षामाथि प्रश्नसमेत उठेको छ । यहाँ चौकीदारको आतंकका कारण अन्य कैदीबन्दी त्रासमा छन् ।
करारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनारायण यादव र ‘ए’ ब्लकका र जितेन्द्र यादव तथा ‘बी’ का चौकीदार श्यामनारायण यादवको मिलेमतोमा कारागारभित्र मदिरा र गाँजा पुग्ने गरेको एक कैदी बताउँछन् । सुरक्षाका लागि प्रहरी नायब निरीक्षक ९सइ० को कमान्डमा २५ प्रहरी खटिए पनि चेकजाँच गरिँदैन ।
डेढ वर्षअघि कारागारमा दही लगिएको प्लास्टिकको कालो ड्रमभित्र १ केजी गाँजा फेला परेको थियो । ‘कारागारभित्र मदिरा त अहिले सहजै पाइन्छ,’ एक कैदीले कान्तिपुरसित भने, ‘भित्र दुई चौकीदारको आतंक छ, बाहिरी वातावरण र थर्काउने काम कार्यालय सहयोगी चन्दनले गर्छन् ।’
यस्तै कारागारभित्रै लागूऔषधको कारोबारसमेत हुने ती कैदीको दाबी छ । कारगारमा अहिले २ सय ७९ कैदीबन्दी छन् । कारागार प्रशासनको निरीहताका कारण सुरक्षाकर्मीले पनि आफ्नो रणनीतिअनुसार काम गर्न नसकेको अवस्था छ ।
मोबाइल सुविधा निर्बाध
प्रावधानविपरीत कारागारभित्र मोबाइल फोनका निर्बाध प्रयोग भइरहेको छ । कारागार प्रशासनले ‘ए’ ब्लक र ‘बी’ ब्लक गरी २ सेट मोबाइल फोन उपलब्ध गराएको छ । ‘ए’ ब्लकका चौकीदार जितेन्द्र यादवसित ९८२४७८५३१८ र ‘बी’ ब्लकका चौकीदार श्यामनारायण यादवसित ९८२४७८५३१० नम्बरको मोबाइल छ ।
दुवैले आकस्मिक समस्या आउँदा प्रयोगका लागि आफूहरूले पाएको बताउँछन् । तर, यो फोनबाट अन्यत्र पनि दैनिक कुरा हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागारभित्र मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था नरहेको बताए ।
छैनन् जेलर
कारागारमा जेलरका रूपमा शाखा अधिकृतको दरबन्दी छ । तर, वर्षौंदेखि यहाँ दरबन्दीअनुसारको पदपूर्ति भएको छैन ।
कहिले नासु त कहिले स्वास्थ्य जाँचका लागि खटिएका सीअहेब निमित्त भएर कारागार प्रशासन चलाउँदै आएका छन् । भारतीय सीमाभन्दा १० किमि दूरीमा रहेको कारागार सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ ।
अतिक्रमणको मार
कारागारको करिब २ बिघा अतिक्रमण भएको छ । अतिक्रमणकै कारण कारागार सुरक्षामा चुनौती पनि थपिएको छ । कारागारको पूरै क्षेत्रमा पर्खाल नहुँदा स्थानीयले अतिक्रमण गरिरहेको निमित्त जेलर सत्यनारायण बताउँछन् ।
निमित जेलर सत्यनारायणले कारागारभित्र विकृति हुन सक्ने बताए । उनले भने, ‘चौबीसै घण्टा म हुँदिनँ, म नभएका बेला विकृति भएको हुन सक्छ, पत्ता लगाएर कानुनी प्रक्रिया अघि बढाउँछु ।’ केही दिनअघि मात्र प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले राजविराज कारागारको निरीक्षण गरेका थिए ।
सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले कारागारजस्तो संवेदनशील स्थानको सुरक्षामा कुनै कमी नहुने बताए । उनले भने, ‘कारागार अत्यन्तै संवेदनशील स्थान हो, यसको सुरक्षामा कुनै कमी हुँदैन, त्यहाँभित्र कानुनविपरीतका कार्यहरू भइरहेका छन् भने हामी तत्कालै नियन्त्रण गर्छौं ।’, कान्तिपुरमा खबर छ।