
काठमाडौं, ६ असार - आइसल्याण्डसँगको खेलमा पूरै अवधि बेञ्चमा थन्किएका अर्जेन्टाइन युवा स्टार पाउलो ड्यबलाले आफू मेस्सीसँगै टीममा खेल्न तयार भएको बताएका छन् ।
मेस्सी र ड्यबलाको खेल्ने पोजिसन एउटै भएकाले प्रशिक्षक जर्ज साम्पाओलीले उनलाई बेञ्चमा राखेका हुन् । यी दुई स्टार एकसाथ खेल्न अभ्यस्त भइनसकेको प्रशिक्षक साम्पाओलीको तर्क छ ।
'अर्जेन्टिना र बार्सिलोनामा मात्र होइन विश्वमै मेस्सीलाई प्रतिस्थापन गर्नसक्ने कोही छैन । त्यसैले पनि मलाई लाग्छ, हामीले एकसाथ खेल्नुपर्छ,' मंगलबार एक पत्रकार सम्मेलनमा ड्यबलाले भने ।
'मैले मेस्सीले खेल्ने पोजिसनमै खेल्थेँ र पछिल्लो समय पनि त्यही पोजिसनमा खेलिरहेको छु,' ड्यबलाले भने- 'अब म कसरी टीममा फिट हुनसक्छु त्यसबारे सोच्नुपर्छ । मलाई लाग्छ- हामी एकसाथ खेल्नु जरुरी छ ।'
साथै उनले मेस्सीजस्तो खेलाडी हुनुको फाइदा टीमले उठाउनुपर्ने बताए । अधिकांश समय मेस्सीलाई विपक्षी टीमले मार्क गर्ने भएकाले अन्य खेलाडीका लागि स्पेस खुल्ने र त्यसको सदुपयोग गर्नुपर्ने उनको तर्क छ ।
'हाम्रो टीममा विश्वकै उत्कृष्ट खेलाडी छन्, हामीले यसबाट सक्दो फाइदा लिन सक्नुपर्छ । प्राय: विपक्षीले मेस्सीलाई मार्क गर्छन्, त्यसले अन्य खेलाडीका लागि स्पेस खुल्छ, हामीले त्यसको सदुपयोग गर्नुपर्छ,' युभेन्टस स्टार ड्यबलाले भने ।
अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा बिहीवार क्रोएसियासँग खेल्दैछ ।
यसअघि पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । सो खेलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए ।