२० असार २०८३, शनिबार
फूटबलको महाकुम्भ

मेस्सी एक्लैले अर्जेन्टिनालाई विश्वकप जिताउन सक्दैनन्

मेस्सी एक्लैले अर्जेन्टिनालाई विश्वकप जिताउन सक्दैनन्
Getty Images, Goal.com

काठमाडौं, ७ असार – पूरा अर्जेन्टिनाको आशा लियोनेल मेस्सीमा अडेको छ ।

अर्जेन्टिनी टोलीले बार्सिलोनामा अभ्यास गरेर रुसतर्फ उड्नका लागि विमानस्थल जाने बस चढ्दै गर्दा एक प्रशंसक चिच्याए, ‘लियो, कप फर्काएर ल्याऊ ।’

आल्बिसेलेस्ते भनी चिनिने अर्जेन्टिनी टोली रुसको निझ्नी नोभ्गोरोदस्थित होटलमा बुधवार पुग्दा अर्जेन्टिनाका समर्थकहरूले मेस्सीकै गीत गाए । ‘लियो मेस्सीको खेलले हामी विजयी हुनेछौं,’ उनीहरूले गाए । 

यसअघि अर्जेन्टिनाका लागि म्याराडोनाले विश्वकप जिताएका थिए । तर म्याराडोनाले एक्लै विश्वकप जिताएका होइनन् । त्यतिखेरको टोलीमा जोर्गे भाल्दानो, अस्कर रगेरी र बुरुचागा लगायतका प्रतिभाशाली खेलाडी थिए । 

म्याराडोनाको रणनीतिका बारेमा सांगोपांग थाहा पाउने अवसर त्यतिखेरका विपक्षी टीमका प्रशिक्षकहरूसँग थिएन । तर मेस्सीले खेलेका सबै म्याचहरू टेलिभिजनका अर्काइभ वा अन्लाइनमा उपलब्ध छन् । त्यसैले उनका सबै मुभहरूको मिहिन अध्ययन गरिएको हुन्छ । यति हुँदाहुँदै पनि उनलाई कहिलेकाहीँ रोक्न असम्भव हुन्छ तैपनि प्रशिक्षकहरू उनलाई रोक्ने रणनीति बनाउनका लागि राम्रो तयारी गर्न सक्छन् । 

फूटबल सन् १९८६ को तुलनामा रणनीतिक र शारीरिक रूपमा विकसित भइसकेको छ । त्यतिखेर टीममा एउटा उत्कृष्ट खेलाडी भए उसले सफलता दिलाउने सम्भावना बढी रहन्थ्यो । अहिले भने दबाब दिने रणनीतिमा अत्यधिक जोड दिइँदैछ अनि मेस्सीलाई उनका साथीले पर्याप्त सहायता उपलब्ध गराएनन् भने उनी विपक्षी टोलीको भीडमा हराउँछन् । 

मेस्सीले बार्सिलोनामा खेल्दा पनि त्यस्तै स्थिति आउने गरेको छ । अन्य उत्कृष्ट खेलाडीको साथ पाउँदा मेस्सीले, विशेषगरी पेप गार्डिओलाको प्रशिक्षणमा, उत्कृष्ट प्रदर्शन गर्ने मौका पाए तर जाभी र नेयमार हिँडेपछि उनमा भार आइपर्‍यो । 

अर्जेन्टिनाका प्रशिक्षक साम्पाओली मेस्सीलाई बार्सिलोनाको जस्तो वातावरण मिलाउनुपर्छ भन्छन् तर त्यस्तो सन्तुलन मिलाउन सकिरहेका छैनन् । अझ आइसल्यान्डविरुद्धको खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिनामा प्रशंसक र मिडिया दुवैबाट चरम निराशायुक्त अभिव्यक्तिहरू आए । 

म्याराडोनाले भने अर्जेन्टिनाका कप्तान मेस्सीको बचाउ गरे । ‘मैले लगातार पाँचवटा पेनाल्टी मिस गरेको छु तैपनि म डिएगो अर्मान्दो म्याराडोना नै हुँ,’ उनले भने । ‘आइसल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाले दुई अंक गुमाउनुमा मेस्सीको पेनाल्टीमा चुक मात्र कारण थिएन । उनले आफूले गर्न सक्ने जति सबै गरे ।’

तर अर्जेन्टिनाका अर्का महान् खेलाडी हर्नान क्रेस्पो भने अलि बढी आलोचनात्मक देखिए । ‘मेस्सीलाई दशमा पाँच अंक मात्र दिन मिल्छ,’ उनले भने, ‘स्वाभाविक हो, हामी उनीबाट बढी अपेक्षा गर्छौं । तर मेस्सी म्याराडोना होइनन्, उनी एक्लैले विश्वकप दिलाउन सक्दैनन् ।’

तर क्रेस्पोले पनि मेस्सीलाई उनका साथी खेलाडीहरूले सहायता नगरेको स्वीकार गरेका छन् । ‘मलाई भन्नुस् त, उनलाई आइसल्यान्डविरुद्ध कसले सघायो ? एन्जल डी मारिया एकचोटि पनि विपक्षीलाई छलाएर अघि बढेनन् । मिडफील्डरहरूले पनि मेस्सीलाई सघाएनन् ।’

चुरो कुरा त्यही हो । म्याराडोनालाई बुरुचागा र भाल्दानोले गोल गर्न सहायता गर्ने गर्थे तर मेस्सीलाई कसैले गतिलो सहयोग गरेको छैन । 

अर्जेन्टिनाका केही प्रशंसक र पूर्व फूटबल खेलाडीहरू मेस्सीभन्दा म्याराडोना नै महान् खेलाडी भएको मान्यता राख्छन् । हुन पनि म्याराडोनाले शताब्दीकै महानतम खेल देखाएर सन् १९८६ को विश्वकप जिताएका थिए । तर भाल्दानोका अनुसार, मेस्सी प्रत्येक दिन सन् १९८६ को स्तरको खेल खेल्छन् । 

बार्सिलोनाका फर्वार्ड मेस्सीले बुधवार नसोचेको खेलाडीबाट प्रशंसा पाए । बार्सिलोनाको चिरदुश्मन रियल मड्रिडका कप्तान सर्जिओ रामोसले क्रोएसियाविरुद्ध अर्जेन्टिनाको खेलअघि टिप्पणी गरे, ‘अर्जेन्टिनामा सबैजनालाई इतिहासकै महानतम खेलाडी कहलाउनका लागि म्याराडोना अझै कैयौं प्रकाश वर्ष पछाडि छन् भन्ने थाहा छ । महानतम खेलाडी त मेस्सी नै हुन् ।’

खासमा रामोसले यस्तो टिप्पणी म्याराडोनाको भनाइ आएपछि गरेका हुन् । म्याराडोनाले रामोस शीर्ष खेलाडी होइनन् भनेका थिए । जे भएपनि मेस्सी म्याराडोनाभन्दा महान् हुन् भन्ने मूल्यांकन चाहिँ रामोसले सही नै गरेका हुन् । 

तर मेस्सीले एक्लैले विश्वकप जिताउलान् भनी अपेक्षा नगर्नुस् । आखिर, म्याराडोनाले पनि एक्लैले विश्वकप जिताएका होइनन् ।

गोल डट्कममा प्रकाशित बेन हेवार्डको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्