
विराटनगर, ८ असार – थुनछेक बहसपछि जिल्ला अदालत मोरङले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशप्रति असन्तुष्टि जनाउँदै सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तले उच्च अदालतमा निवेदन दिएका छन् ।
सादा तारेखमा रिहा गर्नुपर्ने माग गर्दै अभियुक्तहरूले उच्च अदालतमा १७ नम्बरको निवेदन दर्ता गरेका हुन् । उच्च अदालत विराटनगरमा निवेदन दिनेमा ४ जना उच्च ओहदाका प्रहरी अधिकारीसहित अन्य सुन तस्करीका अभियुक्त समेत रहेका छन् । पूर्वडीआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल र डीएसपी सञ्जयकुमार राउत जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका हुन् ।
थुनुवा हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्वीरप्रसाद तोलाङगेले पनि निवेदन दर्ता गराएका छन् । जिल्लाको आदेश चित्त नबुझेपछि बन्दीले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई हिजो कैफियत प्रतिवेदन पठाएको छ । कैफियत प्रतिवेदनमा अभियुक्तले दिएको बयान, घटना मुचुल्का र अदालतको आदेश रहने छ ।
मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने छ । उच्च अदालतमा प्रत्येक हप्ताको बिहीबार मात्र पेशी हुने भएकाले १७ नम्बरमा निवेदन परेका अभियुक्तको हकमा पनि आउँदो बिहीबार बहस हुन सक्ने एक कानून व्यवसायीले बताए ।