०३ असार २०८३, बुधबार

सुन तस्करी प्रकरणमा तानिए नयाँ अनुहार, प्रहरीका पूर्व एआईजीदेखि ठूला व्यापारीसम्म पोलिए !

असार ८, २०७५
सुन तस्करी प्रकरणमा तानिए नयाँ अनुहार, प्रहरीका पूर्व एआईजीदेखि ठूला व्यापारीसम्म पोलिए !

काठमाडौं, ८ असार–साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको म्याद तेस्रो पटक थपिएपछि सुन तस्करी प्रकरणमा नयाँ अनुहार तानिन थालेका छन् । 

जेठ ३१ गते (बिहीवार) बसेको मन्त्रिपरिषद बैठकले तेस्रो पटक एक महिनाका लागि समितिको म्याद थपेको थियो । म्याद थप भएको १ साता नवित्दै (मंगलवार) छानबिन समितिले नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दारलाई पक्राउ गर्यो । 

काठमाडौंको कालिकास्थानमा रहेको सन सिटी अपार्टमेन्टका लगानीकर्ता पोद्दारलाई बिजुलीबजारबाटै पक्राउ गरिएको थियो । उनको पक्राउ पछि प्रहरीले उनी बस्ने अपार्टमेन्टमा बिहीवार छापा समेत मारेको थियो ।  

पोद्दारलाई पक्राउ गरेको दुई दिनपछि (बिहीवार साँझ) एक अर्का व्यवसायी अकबर साह पक्राउ परेका छन् । 

सुन प्रकरणमा पक्राउ परेका अकबर साह २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या गरिएका सञ्चार उद्यमी जमिम साहका भतिजा हुन् । अकबरका बुवा मकबुल साह प्रभावशाली ठेकेदारका रुपमा गनिन्छन् । 

गृह मन्त्रालयको छानबिन समितिका एक सदस्यका अनुसार अकबरले ललितपुरमा एक रेस्टुरेन्ट सञ्चालन गरेका छन् । देखिने रुपमा रेस्टुरेन्ट व्यवसायमा लागेका अकबरको अन्तर्राष्ट्रियस्तरका माफियासँग सम्पर्क रहेको समितिका सदस्य बताउँछन् । 

संयुक्त अरब इमिरेट्स (दुबई)मा सक्रिय माफिया समूहसँगको सम्पर्कमा अकबरले नेपालमा सुन तस्करी गर्ने गरेको प्रारम्भिक प्रमाण फेला परेको गृह मन्त्रालयको समितिका एक सदस्यले लोकान्तरलाई बताए । 

प्रहरीका तीन पूर्वएआईजीको नाम पोलियो

मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका पोद्दारमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको छ । गृह मन्त्रालयको समितिले बुधवारदेखि नै उनीसँग बयान लिन शुरु गरेको थियो । 

पोद्दारले बयानका क्रममा नेपाल प्रहरीका केही पूर्व उच्च अधिकारको नाम पोलेका छन् । 

बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देखि ठूला व्यापारीसम्मको सहयोगले आफूले काम गर्ने गरेका बताएका छन् । 

गृह मन्त्रालयको समिति स्रोतका अनुसार पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मा र रमेशशेखर बज्राचार्यको नाम समेत पोलेका हुन् । 

‘राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा र रमेशशेखर बज्राचार्य हामी मिल्ने साथी हौं । पहिले सँगै ड्रिङ्स पनि गर्थौं,’ पोद्दारले समितिलाई दिएको बयान उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘हामीले गर्ने काममा पनि उनीहरुले सहयोग गर्ने गर्थे ।’

पोद्दारले नेपालका केही चर्चित र ठूला व्यापारीको नाम समेत बयानका क्रममा पोलेका छन् । ‘पोद्दारसँगको बयान अझै जारी छ । उनले केही ठूला व्यापारी र प्रभावशाली व्यक्तिको नाम पनि पोलेका छन्,’ गृह मन्त्रालयको छानबिन समितिका सदस्यले लोकान्तरसँग भने, ‘उनले नाम पोलेका व्यक्तिको संलग्नताको आधार खोजिरहेका छौं । तथ्यगत आधार फेला परे उनीहरुलाई पनि नियन्त्रणमा लिइन्छ ।’

ठूला माछाको नजिक समिति

बिमल पोद्दार र अकबर साहको पक्राउले सुन तस्करीका ‘ठूला माछा’ नजिक अनुसन्धान पुगेको समितिका सदस्य बताउँछन् । 

गत जेठमा पक्राउ परेर अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका गोरे भनिने चूडामणि उप्रेती सुन तस्करीको व्यवस्थापकको भूमिकामा मात्रै रहेको तथ्य फेला पारेपछि समितिले तस्करीका लगानीकर्ताको खोजी शुरु गरेको थियो । जसअन्तर्गत एमके भनिने मोहनकुमार अग्रवाललाई तस्करीका मूख्य लगानीकर्ता मानिएको थियो । 

‘अहिले पक्राउ परेका दुईजनाको प्रारम्भिक बयानले सुन तस्करीमा लगानी गर्ने व्यक्तिबारे तथ्यगत सूचना प्राप्त भएको छ,’ छानबिन समितिका सदस्य भन्छन्, ‘एमकेका अलावा सुन तस्करीमा अन्य प्रभावशाली व्यक्तिको पनि लगानी रहेको सूचना पाएका छौं । यसबारे अध्ययन भइरहेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्