
काठमाडौं, ८ असार – नेपालमा जाँचहरूमा चिट चोर्ने कुचलन कायम छ । उता अल्जेरियामा भने परीक्षामा चोरी रोक्नका लागि देशभरि इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्ध सोमवारसम्म कायम रहनेछ ।
त्यहाँ बुधवारदेखि हाईस्कूलको परीक्षा शुरू भएको छ ।
परीक्षा अवधिभरि देशमा मोबाइल र फिक्स्ड इन्टरनेट ठप्प रह्यो ।
टेलिकम अपरेटरहरूले सरकारको माग पूरा गर्नैपर्ने हुन्छ ।
सन् २०१६ मा भएको परीक्षामा धेरै चोरी भएको थियो । त्यतिखेर परीक्षामा सोधिएको प्रश्न पहिले नै सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । अघिल्लो वर्ष प्रशासनले सामाजिक सञ्जालमा पहुँचमा प्रतिबन्ध लगाएपनि समस्या समाधान भएन ।
इन्टरनेटमा पहुँच पुग्ने विद्युतीय उपकरण मोबाइल र ट्याब्लेटलाई यसपालि अल्जेरियाका दुई हजार परीक्षा केन्द्रमा प्रतिबन्धित गरिएको छ । शिक्षामन्त्री नौरिया बेनगार्बिटले परीक्षा केन्द्रमा मेटल डिटेक्टर लगाइएको बताएका छन् ।
प्रश्नपत्र लीक हुनबाट बचाउनका लागि प्रश्नपत्र छाप्ने ठाउँमा इन्टरनेट जामर र सर्भेलेन्स क्यामरा लगाइएको छ ।
यो परीक्षामा सात लाख विद्यार्थी छन् र यसको नतिजा २२ जुलाईसम्ममा आइसक्नेछ ।
एजेन्सी