
काठमाडौं, १० असार – अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।
तीन वर्षअघि यही समूहको जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए । यसवर्षदेखि कक्षा १० मा गणितबाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएकोमा २ देखि ४ जीपीए ल्याउने ३ लाख ४२ हजार ८ सय २६ जना (७५.९२ प्रतिशत) मात्रै छन् । तैपनि नतिजाबाट निरुत्साहित हुनुपर्ने अवस्था नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
लोकसेवा आयोगले २ जीपीए ल्याएका मात्रै निजामती सेवामा प्रवेश गर्न पाउने आधार तय गरेको छ । कक्षा ११ भर्ना हुन १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । १.६५ भन्दा बढी ल्याउने विद्यार्थीको नतिजा हेर्दा हरेक वर्ष खस्किएको देखिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
एसईईको नतिजा यहाँबाट हेर्नुहोस् :