२४ असार २०८३, बुधबार

नेपालमा रेल पुर्‍याउने चीनको भिजन, नेपालले लगानी गर्नै नपर्ने !

नेपालमा रेल पुर्‍याउने चीनको भिजन, नेपालले लगानी गर्नै नपर्ने !

काठमाडौं, १० असार - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल पुर्‍याउन चिनियाँ राष्ट्रपति शी चिनफिङ प्रतिवद्ध रहेको बताउनुभएको छ ।

चीनको छ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रेल पुर्‍याउने चिनियाँ राष्ट्रपति शीको भिजन रहेको बताउनुभएको हो ।  

‘चीनबाट रेल सञ्चालनको सन्दर्भमा यो नयाँ विकास पनि हो । यसर्थ यसमा धेरै हरातो भन्दा पनि परिपक्क ढंगले काम गर्नुपर्ने हुन्छ । डिटेल सर्भेको काम गरेपछि केही वर्षमा काम शुरु हुन्छ,’ ओलीेले भन्नुभयो, ‘राष्ट्रपति शीले नेपालमा रेल पुर्‍याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताउनुभएको छ ।’

रेल्वे लाइनमा लगानी चीनले नै गर्ने उहाँले बताउनुभयो । ‘जोसँग पैसा छ उसैले गर्ने हो, पैसा नहुनेले लगानी गर्नुपर्दैन’ ओलीले भन्नुभयो । 

छिमेकीविरुद्ध कार्ड खेल्दैनौं

प्रधानमन्त्री ओलीले छिमेकीका विरुद्धमा नेपालले कार्ड नखेल्ने पनि बताउनुभयो । इमान्दार कुटनीतिक प्रयासमार्फत् छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने उहाँको भनाइ छ ।

‘हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं, प्रतिकूल परिस्थितीमा पनि दृढताका साथ उभिन्छौ,’ उहाँले भन्नुभयो, ‘हामी इमान्दार कुटनीतिक प्रयास गर्छौं, इमान्दार छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि अब नेपाललाई पारवहनको प्रयोग र यातायातको प्रयोगका लागि समस्या नभएको बताउनुभयो । उहाँले आफ्नो भ्रमण सफल रहेको पनि उल्लेख गर्नुभयो ।

राजकीय भ्रमणका शिलसिलामा असार ५ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतवार स्वदेश फर्किनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलललगायतले स्वागत गर्नुभएको थियो ।

ओलीको स्वागतका लागि नेकपाका कार्यबहाक अध्यक्ष माधवकुमार नेपाल पनि विमानस्थल पुग्नुभएको थियो ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

ओलीको भ्रमणका दौरान नेपाल र चीनबीच १० वटा सम्झौता र ४ वटा समझदारी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्