
जनकपुरधाम, ११ असार – २ नम्बर प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले मधेश आन्दोलनको क्रममा घाइते भएकालाई प्रकृति हेरेर सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए । मन्त्रीपरिषद्को बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ ।
मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ । बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धी निर्देशिका २०७५ लाई समेत स्कृति प्रदान गरेको छ ।